बुटवल, सामान्य ग्रामीण परिवेशमा जन्मिएर शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्नु, आर्थिक अभावका बीच उच्च शिक्षा पूरा गर्नु र आफ्नो सम्पूर्ण ऊर्जा सामुदायिक विद्यालयको रूपान्तरणमा लगाउनु आफैँमा एउटा प्रेरणादायी यात्रा हो। गुल्मीको एउटा गाउँबाट सुरु भएको यस्तै यात्रा अहिले बुटवलको कान्ति माध्यमिक विद्यालयलाई राष्ट्रिय शैक्षिक पहिचान दिलाउने नेतृत्वसम्म आइपुगेको छ। यस यात्राका पात्र हुन् प्रधानाध्यापक गोविन्द ज्ञवाली।
बुटवल उपमहानगरपालिकाले २०८३ असोज २६ गते ज्ञवालीलाई थप पाँच वर्षका लागि कान्ति माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्त गरेको छ। खुला प्रतिस्पर्धाबाट पुनः नियुक्त भएका ज्ञवालीको यो जिम्मेवारीसँगै विद्यालयको शैक्षिक विकास र संस्थागत रूपान्तरणको अर्को अध्याय सुरु भएको छ।
ग्रामीण परिवेश, उत्कृष्ट शैक्षिक यात्रा
२०२९ साल फागुन ५ गते शुक्रबार गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५, साविक बम्घा गाविस वडा नं. ७ दाङसिरमा माता खगेश्वरा ज्ञवाली र पिता लक्ष्मणप्रसाद ज्ञवालीका ज्येष्ठ सन्तानका रूपमा उनको जन्म भएको हो। मध्यमवर्गीय परिवारमा हुर्किएका उनी सानैदेखि पढाइमा तीक्ष्ण थिए। विद्यालयमा प्रायः प्रथम हुने ज्ञवालीको शैक्षिक क्षमता बाल्यकालदेखि नै उत्कृष्ट थियो।
गाउँकै जनबोध निम्न माध्यमिक विद्यालयबाट कक्षा ७ सम्म अध्ययन गरेका उनले जनजागृति माध्यमिक विद्यालय, हुँगा गुल्मीबाट २०४५ सालमा एसएलसी उत्तीर्ण गरे।
अंग्रेजी विषयमा विशेष रुचि भए पनि परिवारको आग्रहअनुसार विज्ञान विषय रोजेका उनले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट २०४८ सालमा आईएस्सी र २०५१ सालमा बीएस्सी उत्तीर्ण गरे। बीएस्सीमा क्याम्पस प्रथम भएका ज्ञवालीले २०५६ सालमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) पूरा गरे। स्नातकोत्तरमा उनी विश्वविद्यालयको बोर्डमा छैटौँ स्थानमा रहेका थिए।
त्यतिबेला विज्ञान विषयको अध्ययनलाई उच्च प्रतिष्ठा र सम्भावनासँग जोडेर हेरिन्थ्यो। गणित, अर्थशास्त्र, व्यवस्थापन र लेखा विषयमा उत्कृष्ट दस स्थानभित्र पर्ने विद्यार्थीलाई राष्ट्र बैंकले उपसचिवसरहको पदका लागि विज्ञापन गरेको अवसरमा पनि उनको रुचि थियो। तर विश्वविद्यालयबाट व्यक्तिगत सिफारिस प्राप्त हुन नसकेका कारण उक्त अवसरबाट वञ्चित हुनुपरेको उनको अनुभव छ। यद्यपि शिक्षण पेसामा प्रवेश गर्न पाएकोमा उनी सन्तुष्ट र गौरवान्वित छन्।
एक हजार नौ सय रुपैयाँबाट सुरु भएको शिक्षण यात्रा
ज्ञवालीको शिक्षण यात्रा २०४८ सालमा सुरु भएको हो। आईएस्सीको परीक्षा दिएपछि नतिजा आउनुअघि नै उनले गुल्मीको रुन्खादह माध्यमिक विद्यालयमा विज्ञान विषय अध्यापन गर्न थालेका थिए। निम्न माध्यमिक तहको शिक्षकका रूपमा कक्षा १० सम्म पढाउँदा उनको मासिक तलब एक हजार नौ सय रुपैयाँ थियो।
२०५१ सालमा बीएस्सीको परीक्षा दिएपछि आर्थिक अवस्थाका कारण तत्कालै स्नातकोत्तर अध्ययन गर्न नसकेका उनी बुटवलको दीप बोर्डिङ स्कुलमा गणित तथा विज्ञान शिक्षकका रूपमा आबद्ध भए। केही वर्ष काम गरेर अध्ययन खर्च जुटाएपछि २०५४ सालमा एमएस्सी अध्ययनका लागि कीर्तिपुर पुगे।
२०५६ सालमा स्नातकोत्तर अध्ययन पूरा गरेपछि भैरहवाको सनसाइनमा अध्यापन गरे। त्यसपछि पुनः दीप बोर्डिङ स्कुलमा फर्किएर २०६० साल भदौ २९ गतेसम्म काम गरे।
२०६० साल भदौ ३० गते शान्ति नमुना माध्यमिक विद्यालय, मणिग्राममा माध्यमिक तह विज्ञान शिक्षकका रूपमा अस्थायी नियुक्ति पाए। सोही वर्ष मंसिर ८ गते स्थायी नियुक्ति प्राप्त गरे। २०६१ सालमा बुटवल बहुमुखी क्याम्पस र न्यूलाइट क्याम्पसमा बिहानी सत्रमा उपप्राध्यापकका रूपमा समेत अध्यापन गरे।
कान्तिसँग जोडिएपछि बदलियो शैक्षिक यात्राको दिशा
२०६२ साल जेठ १ गते कान्ति माध्यमिक विद्यालय बुटवलमा सरुवा भएपछि उनको शैक्षिक यात्राले नयाँ मोड लियो। २०६४ साल वैशाख १२ गते कक्षा ११ र १२ को कोअर्डिनेटर नियुक्त भएका ज्ञवाली २०६६ साल पुस ८ गते जिल्ला शिक्षा कार्यालय रुपन्देहीबाट प्रधानाध्यापक नियुक्त भए।
त्यसयता विद्यालयको नेतृत्वमा निरन्तर सक्रिय रहेका उनलाई २०७८ साल भदौ १२ गते बुटवल उपमहानगरपालिकाले पाँच वर्षका लागि प्रधानाध्यापक नियुक्त गरेको थियो। २०८३ असोज २६ गते पुनः पाँच वर्षका लागि नियुक्त भएपछि उनको नेतृत्वले अर्को कार्यकाल प्राप्त गरेको छ।
२०६४ सालदेखि अन्य शैक्षिक संस्थाको जिम्मेवारी पूर्ण रूपमा छाडेर कान्ति माविमै केन्द्रित भएका ज्ञवालीले विद्यालयलाई आफ्नो मुख्य कर्मक्षेत्र बनाएका छन्।
आफ्नै सन्तानलाई सामुदायिक विद्यालयमा पढाएर सुरु गरे अंग्रेजी माध्यम
विद्यालयमा अंग्रेजी माध्यमको पढाइ सुरु गर्ने क्रममा ज्ञवालीले आफ्नै परिवारलाई उदाहरणका रूपमा प्रस्तुत गरे। २०६७ सालमा कक्षा ९ मा अध्ययनका लागि आफ्नै छोरी अंशु र भान्जीलाई कान्ति माविमा भर्ना गराएर अंग्रेजी माध्यमको सुरुवात गरेका थिए।
उनकी छोरी अंशुले कक्षा ९ देखि १२ सम्म र छोरा बृहतले कक्षा ७ देखि १२ सम्म सोही विद्यालयमा अध्ययन गरे। सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सम्भव छ भन्ने विश्वासलाई व्यवहारमै देखाउने उनको प्रयासका रूपमा यसलाई लिन सकिन्छ।
चार सय विद्यार्थी क्षमताको छात्रावासदेखि आधुनिक प्रयोगशालासम्म
ज्ञवालीको नेतृत्वमा कान्ति माविले भौतिक पूर्वाधार र शैक्षिक सुविधाका क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ।
विद्यालयमा आधुनिक र आकर्षक भवन, व्यवस्थित कक्षाकोठा, उत्कृष्ट विज्ञान तथा कम्प्युटर प्रयोगशाला, करिब चार सय विद्यार्थीलाई आवासीय सुविधा दिन सक्ने छात्रावास र यातायात व्यवस्थापन गरिएको छ।
चार सय विद्यार्थी क्षमताको छात्रावासमा करिब तीन सय विद्यार्थी आवासीय सुविधासहित अध्ययन गरिरहेका छन्। विद्यार्थीको बढ्दो चापका कारण छात्रावासका छवटा कोठासमेत कक्षाकोठाका रूपमा प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
विद्यालयले १८ वटा बसमार्फत टाढाटाढाका विद्यार्थीलाई आवतजावतको सुविधा उपलब्ध गराउँदै आएको छ। पूर्व खैरेनी, पश्चिम हरैया र दक्षिणतर्फ तिलोत्तमा नगरपालिकाको मणिग्रामसम्मका दुई हजार तीन सयभन्दा बढी विद्यार्थीलाई यातायात सेवा प्रदान गर्नु विद्यालयको व्यवस्थापकीय क्षमताको अर्को उदाहरण हो।
विज्ञान विषयको प्रयोगात्मक सिकाइका लागि छुट्टाछुट्टै प्रयोगशाला, उच्च गतिको इन्टरनेटसहितको कम्प्युटर ल्याब, स्मार्ट बोर्ड र प्रोजेक्टरयुक्त कक्षाकोठाको व्यवस्था गरिएको छ। सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोगलाई प्राथमिकता दिँदै विद्यालयले शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाएको छ।
नेपालकै पहिलो आईएसओ प्रमाणित सामुदायिक विद्यालय
कान्ति माध्यमिक विद्यालयको अर्को ऐतिहासिक उपलब्धि नेपालकै पहिलो आईएसओ प्रमाणित सामुदायिक विद्यालय बन्नु हो। २०८१ साल पुस २ गते अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको विद्यालयले शैक्षिक गुणस्तर, संस्थागत व्यवस्थापन र सेवा प्रवाहमा गुणस्तरीय मापदण्ड स्थापित गर्ने प्रयास गरेको छ।
विद्यालयमा ६ हजार ३० विद्यार्थी अध्ययनरत रहेको विवरण छ। विद्यार्थी संख्याका आधारमा नेपालकै चौथो ठूलो सामुदायिक विद्यालयका रूपमा परिचित कान्तिले कक्षा १० र १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजासमेत हासिल गरेको छ।
विद्यालयमा हरित विद्यालयको अवधारणा कार्यान्वयन गरिएको छ। गणितीय पार्क निर्माण गरेर गणित विषयलाई प्रयोगात्मक र रोचक बनाउने प्रयास गरिएको छ। लुम्बिनी प्रदेशमा विज्ञान विषयको अध्ययन र प्रयोगात्मक सिकाइको केन्द्रका रूपमा विद्यालयले आफ्नो पहिचान स्थापित गरेको छ।
त्यस्तै आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुर्याउन छात्रवृत्ति अक्षयकोषको व्यवस्था गरिएको छ। विद्यालयमा विभिन्न शिक्षा प्रेमी तथा समाजसेवीले स्थापना गरेका अक्षयकोषबाट प्रत्येक वर्ष सयौँ विद्यार्थी लाभान्वित हुँदै आएका छन्।
सरल स्वभाव, दृढ संकल्प र विद्यालयप्रतिको समर्पण
ज्ञवालीको जीवनयात्राको अर्को महत्त्वपूर्ण पक्ष उनको कार्यशैली हो। विद्यालयको कामलाई प्राथमिकतामा राखेर निरन्तर खटिने, जिम्मेवारीबाट पछि नहट्ने र लक्ष्य प्राप्तिका लागि दृढतापूर्वक अघि बढ्ने उनको स्वभावलाई विद्यालयको विकास यात्रासँग जोडेर हेर्न सकिन्छ।
घरायसी जिम्मेवारीको समेत प्रवाह नगरी विद्यालयको काममा केन्द्रित रहँदा जीवनसंगिनीको साथ र सहयोग उनको यात्राको महत्त्वपूर्ण आधार बनेको छ। शिक्षण पेसामै आबद्ध जीवनसंगिनीले दिएको सहयोग र पारिवारिक समझदारीले उनलाई विद्यालयको जिम्मेवारीमा थप समय दिन सहज बनाएको छ।
उनले व्यक्तिगत लाभ र अन्य संस्थागत जिम्मेवारीभन्दा विद्यालयको कामलाई प्राथमिकता दिँदै आएका छन्। सरलता, निरन्तरता, मेहनत र आफ्नो उद्देश्यप्रतिको दृढताले उनको नेतृत्व यात्रालाई विशिष्ट बनाएको छ।
शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप २०७६ सालमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट शिक्षा पुरस्कार प्राप्त गर्नु उनको अर्को उपलब्धि हो।
अर्को पाँच वर्षको जिम्मेवारी र चुनौती
गुल्मीको एउटा सामान्य गाउँबाट सुरु भएको शैक्षिक यात्रा, एक हजार नौ सय रुपैयाँको तलबबाट सुरु भएको शिक्षण पेसा र बुटवलको कान्ति माध्यमिक विद्यालयको नेतृत्वसम्म आइपुग्दा ज्ञवालीले लामो अनुभव र उपलब्धि हासिल गरेका छन्।
तर ६ हजारभन्दा बढी विद्यार्थी र ठूलो शिक्षक तथा कर्मचारी समूह रहेको विद्यालयको नेतृत्व गर्नु आफैँमा चुनौतीपूर्ण जिम्मेवारी हो। बढ्दो विद्यार्थी संख्याअनुसार पर्याप्त कक्षाकोठा र पूर्वाधार विस्तार, शैक्षिक गुणस्तर कायम राख्नु, शिक्षकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री शिक्षाको विस्तार र संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउनु उनका आगामी कार्यकालका महत्त्वपूर्ण जिम्मेवारी हुनेछन्।
सामुदायिक विद्यालय पनि गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार र उत्कृष्ट व्यवस्थापनको केन्द्र बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको कान्ति माविको यात्रामा ज्ञवालीको नेतृत्व महत्त्वपूर्ण रहँदै आएको छ। आगामी पाँच वर्षमा विद्यालयलाई अझ उचाइमा पुर्याउने अपेक्षासहित उनको पुनर्नियुक्तिलाई हेरिएको छ।
सामान्य गाउँबाट सुरु भएको यात्रा, शिक्षणप्रतिको रुचि, अध्ययनप्रतिको लगाव र संस्थाप्रतिको समर्पणले निर्माण गरेको यो व्यक्तित्व केवल एउटा प्रधानाध्यापकको सफलताको कथा होइन, सामुदायिक शिक्षामा दृढ इच्छाशक्ति र निरन्तर प्रयासले ल्याउन सक्ने परिवर्तनको उदाहरण पनि हो।
