बुटवल । दीपावलीको उल्लाससँगै बुटवलमा सडक खाना महोत्सव सुरु भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि बुटवल–८ सुख्खानगरस्थित शुक्रपथमा दीपावली सडक खाना महोत्सव सञ्चालनमा आएको हो।
यसअघि बुटवलको अमरपथमा आयोजना हुँदै आएको सडक खाना महोत्सव यसपटक नयाँ स्थानमा सारिएको छ। स्थान परिवर्तन भए पनि महोत्सवप्रतिको आकर्षण र उत्साहलाई निरन्तरता दिने अपेक्षा आयोजकको छ। बुटवलमा विभिन्न अवसरमा आयोजना हुने मेला तथा महोत्सवमा हजारौँको सहभागिता रहने गरेको छ। यस्ता कार्यक्रम बुटवलको व्यापारिक चहलपहल र सामाजिक भेटघाटको माध्यमसमेत बन्दै आएका छन्।
महोत्सवको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सहरको आर्थिक विकासका लागि स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। उनले बुटवलको व्यापार, व्यवसाय र आर्थिक गतिविधिलाई चलायमान बनाउन उपमहानगरपालिका निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको उल्लेख गरे।
औद्योगिक तथा व्यावसायिक क्षेत्रको विकास र प्रवर्द्धनका लागि स्थानीय सरकार फरक सोच र प्राथमिकतासहित अघि बढेको बताउँदै उनले मोतीपुर औद्योगिक क्षेत्र स्थापना र बुटवल–१५ मा कृषि उपज केन्द्र निर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए।
उपप्रमुख सावित्रादेवी अर्यालले महोत्सवले बजारलाई थप चलायमान बनाउनुका साथै स्थानीय उत्पादन र व्यवसायको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा सञ्चालन भएको महोत्सव कात्तिक २२ गतेसम्म हरेक दिन अपराह्न ४ बजेदेखि राति १० बजेसम्म चल्नेछ। महोत्सवमा खानाका परिकार, तिहारका सामग्री र स्थानीय उत्पादनका गरी ५० वटा स्टल राखिएका छन्।
विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका परिकार, फूलमाला, खाद्यान्न तथा तिहारमा आवश्यक सामग्री प्रदर्शनी र बिक्रीका लागि राखिएका छन्। यसले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने र उपभोक्तालाई एउटै स्थानमा विभिन्न सामग्री उपलब्ध गराउने अवसर सिर्जना गरेको छ।
संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलले स्थानीय उत्पादन, खानाका परिकार र व्यवसायको प्रवर्द्धन गर्दै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। उनले दीपावलीको सांस्कृतिक महत्व र मौलिक परम्पराको संरक्षणसँगै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधि बढाउन महोत्सवले योगदान पुर्याउने अपेक्षा गरिएको उल्लेख गरे।
यसपटकको दीपावलीमा बुटवल सहरलाई विशेष रूपमा सिँगारिएको छ। राजमार्गका सडक तथा मुख्य व्यापारिक क्षेत्रहरूमा झिलिमिली बत्ती र आकर्षक सजावट गरिएको छ। दीपावलीको रौनकसँगै सडक खाना महोत्सवले सहरको चहलपहल थप बढाएको छ।
महोत्सवमा खानाका परिकार र स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीसँगै सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रमसमेत समेटिएका छन्। पहिलो दिन स्थानीय ब्यान्डको प्रस्तुति रहेको थियो भने दोस्रो दिन देउसीभैलो प्रतियोगिता र तेस्रो दिन राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजक संस्था बुटवल उद्योग वाणिज्य संघले जनाएको छ।
