बुटवल । माघ १६ सहिद दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बुटवलमा रहेको सिरसिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समितिको सहकार्यमा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल नियमित रक्तदाता संघका केन्द्रीय अध्यक्ष दया बहादुर सिलवालले रक्तदानको बारेमा अभियान नै संचालन गरिएको बताउनु भयो । एक पोका रगतले कसैको ज्यान बचाउने भएको हुनाले रक्तदान भन्दा ठुलो सेवा र धर्म अरु केही नभएको बताउदै सबैलाई नियमितरुपमा रक्तदान गर्न आग्रह गर्नु भयो ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसिले सहिदहरुको स्मरणमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गर्नु भयो । पछिल्लोपटक सिरसिरे सहकारीले विभिन्न सामाजिक कार्यहरू गरिरहेको चर्चा गर्दै समाजमा सहकारीको माध्यमबाट सेवाका धेरै कामहरु गर्न सकिन्छ भन्ने उदाहरण सिरसिरे सहकारीले दिइरहेको बताउनु भयो ।
यसैगरी सिरसिरे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकृष्ण शर्माले महान सहिदको स्मरणमा आजको दिन नै रोजेर कार्यक्रम आयोजना गरेको जानकारी गराउदै विभिन्न संघ संस्थाहरु सँगको सहकार्यमा रक्तदानको अभियान नै संचालन गर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा घरबहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष राजु लिगल , संस्थाका प्रमुख सल्लाहकार बाबुराम गौतम , रुपन्देही डेरी व्यवसायी समिति अध्यक्ष बिष्णु पाण्डे , उपाध्यक्ष जीवलाल न्यौपाने , मासु व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष सुनिता क्षेत्री , नियमित रक्तदाता संघका महासचिव दिपक अधिकारी , केन्द्रीय सदस्य राजु रसाइली , राजेश गैरे ,गंगा बिस्वकर्मा , एवं संस्थाका सल्लाहकार गिरिराज पोख्रेल , कानुनी सल्लाहकार रामप्रसाद भुसाल लगाएतको आतिथ्यता रहेको थियो ।
संस्थाका उपाध्यक्ष टेकराज शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो भने संचालन सचिव गिरिराज भुसालले गर्नु भएको थियोे ।
उक्त रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गर्नु भएको थियोे ।
