बुटवल: विभिन्न पार्टी परित्याग गरि ३१० जनाले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार नेकपा रुपन्देहीको आयोजनामा सम्पन्न ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा रुपन्देहीका विभिन्न क्षेत्रबाट विभिन्न व्यक्तिहरुले पार्टी प्रवेश गरेका हुन् ।
योगिकुटीको दरबारलनमा सम्पन्न कार्यक्रममा रुपन्देहीका देबदह ओमसतिया, रोहिणी, सिनपा, बुटवल, सियारी, सैनामैना, कन्चन लगायतका क्षेत्रबाट पार्टी प्रवेश गरेका छन् ।
पार्टीले लिएको जनपक्षीय लाइन र विभिन्न कार्यक्रमबाट प्रभावित भएर पार्टी प्रवेश गर्नेहरुको लहर लागेको नेकपा रुपन्देहीका सेक्रेटरी विरेन्द्र सीले बताएका छन् । पछिल्लो मिटरब्याज तथा लघुवित्त विरुद्धको आन्दोलन एवं भ्रष्टाचार, मुल्यबृद्धि र कालाबजारीका विरुद्धको आन्दोलनबाट प्रभावित भएर ठुलो संख्यामा पार्टीमा जनताहरु गोलबन्द भएको उनले बताए । जिल्लाका विभिन्न क्षेत्रबाट करिब ५०० को संख्यामा सहभागी जनसमुदायको बिच उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य एवं पुर्वी लुम्बिनि ब्युरो इन्चार्ज प्रज्ज्वलन सीले सबै उत्पीडित श्रमिक जनताको एकताबाट मात्रै क्रान्तिकारी आन्दोलन सम्भव हुने बताएका छन् ।नेकपा रुपन्देहिको आयोजनमा ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता प्रज्ज्वलनले जनताका पक्षमा पार्टी अनवरत लागिरहने बताए । उनले मधेश समस्या पर्दा पहाडबाट पूर्वमा समस्या पर्दा पश्चिमबाट नेपाली जनताको एकताबद्ध आन्दोलन हुने गरेको बताउँदै हरेक संघर्षमा पार्टी अग्रभागमा रहने बताए । उनले भने, -‘बोल्न पाउने जस्ता सिमित अधिकारले मात्रै हुँदैन जनताको जीवनस्तर सुरक्षाको ग्यारेन्टी हुनुपर्छ । भ्रष्टाचारी कालाेबजारीहरुलाई कार्बाही नगर्दासम्म देश बन्दैन । हामीले भ्रष्टहरुलाई कार्बाही गर भन्दा हामी जेल जानुपर्यो। अहिले भ्रष्टाचारीलाई जेल हाल्न सुरु भएको छ जुन तपाईं हाम्रै आन्दोलनका कारण सम्भव भएको हो । त्यसैले मान्छे बदलेर मात्रै हुँदैन सिस्टम बदल्नुपर्छ जसका लागि दलाल संसदीय व्यवस्था अन्त्य गरेर समाजवाद ल्याउनुपर्छ । त्यही भएर ४ दलको समाजवादी मोर्चा गठन भएको हो । अब समाजवाद मान्ने सबै कम्युनिस्ट पार्टीहरु यो मोर्चामा आउन जरुरी छ ।’
नेता प्रज्जवलनले यो व्यवस्थाले जनतालाई ठगेको छ, रोजगारी छैन स्वास्थ्य र शिक्षामा दलालीकरण छ, महंगी कालाेबजारी, घुसखोरी, तस्करी छ, मिटरब्याज र लघुबित्तको शोषण छ भन्दै यिनको अन्त्य वैज्ञानिक समाजवादमा मात्रै हुने ठोकुवा समेत गरे । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज सरद सीले आफ्नो पार्टी जनताका एजेन्डाबाट पछि नहट्ने बताए । भैरहवामा गरेको कुख्यात मिटरब्याजी विरुद्धको संघर्षबाट ठगहरु अत्तालिएको बताउँदै उनले अबको संघर्ष झन् पेचिलो पारिने बताए । नेकपाका रुपन्देही सेक्रेटरी विरेन्द्र सीको अध्यक्षता र जिल्ला सदस्य शिशिर सीको संचालनमा एवं जिल्ला सदस्य उषा पाठकको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
