बुटवल । धर्मेन्द्र समूह बैद्य समूहमा विलय भएपछि उक्त समूह परित्याग गर्नेको लर्को लागेको छ । आइतबार एक वक्तव्य जारी गर्दै उक्त समूहका महाधिवेशन आयोजक समिति सदस्य मोहन लिम्बु, प्रदेश कमिटी सदस्यहरु रविन लिम्बु, दिनेश बर्तौला, प्रदेश कमिटी सदस्य एवं भोजपुर सेक्रेटरी धु्रवराज राई, धनकुटा सेक्रेटरी एवं प्रदेश कमिटी सदस्य आलोक श्रेष्ठ, प्रदेश कमिटी सदस्य चुनाव खुवाल कार्की, बिजय स्याङतानले सामूहिक राजिनामा दिएका छन् ।
उनीहरुले पार्टीभित्र दार्शनिक, सैद्धान्ति, वैचारिक तथा संगठनात्मक रुपमा गम्भीर समस्या रहेको बताउदै राजनीतिक रुपले सारसंग्रहवादमा फसेको बताएका छन् । उनीहरुले न्युनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति की वैज्ञानिक समाजवाद भन्ने बारे अस्पष्ट र अन्यौल रहेको भन्दै नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई अस्वीकार गरिएको बताएका छन् ।
उनीहरुले क्रान्तिका लागि कुनै ठोस प्राविधिक योजना नभएको भन्दै यसले वर्गसंघर्ष नगर्ने बताएका छन् । उनीहरुले राजिनामा पत्रमा पार्टीभित्र आलोचना र आत्मआलोचना, अनुशासन र गोपनीयता, भूमिगत कार्यशैलीको विधि सकिएको भन्दै गुटबन्दीलाई संस्थागत गरी फरक विचारमा आलोचना गर्ने कार्यकर्तामाथि कारवाही गरिएको बताएका छन् । उनीहरुले अहिलेको नेतृत्वले क्रान्ति गर्न नसक्ने बताएका छन् ।
दुई समूह 'एकता' भएको भनिएपनि धर्मेन्द्र समूहका कयौं नेता कार्यकर्ताहरुले त्यसको विरोध गर्दै आफ्नो समूह जीवितै रहेको भन्दै गतिविधि गरिरहेको छ । धर्मेन्द्र समूह बैद्य समूहमा विलय भएपछि उक्त समूहका अधिकांश इमान्दार नेता कार्यकर्ताहरु विप्लव नेतृत्वको नेकपाको मूलधारमा फर्किसकेका छन् । उक्त समूहका अधिकांश कार्यकर्ता निराश भएर विभिन्न पेशा व्यवसायमा जोडिएका छन् भने कतिपय सामाजिक सञ्जालमा बसेर विप्लव र उनको नेतृत्वको नेकपाको लोकप्रियताविरुद्ध कुण्ठा पोखिरहेका छन् ।

