बुटवल । गुल्मीमा बैङ्क तथा घर तोडफोड गरी नगद र गरगहना चोरी भएको छ । चोरी हुँदा पनि चोर पक्राउ नपरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
गत बिहीबार राति सत्यवती गाउँपालिका –१, अस्लेवामा जीतबहादुर मिदुनको घरमा शङ्कर थापाले सञ्चालन गरेको औषधि पसलबाट ८ हजार नगद, पुष्पा अर्यालको करिब ३० हजार नगद, सीता होटलबाट छ हजार, तोयनारायणकी कान्छी बुहारीको घरबाट ४० हजार नगद र १५ तोला सुन, मति पाण्डेको घरबाट पुराना सामग्री चोरी भएको वडा अध्यक्ष अर्जुन कनौजेले जानकारी दिए ।
शुक्रबार अर्को वडा लिम्घामा रहेको कुमारी बैङ्कको ब्रान्चलेस बैङ्किङ शाखाबाट चार लाख नगद चोरी भएको र वडा कार्यालय तोडफोड भएको कनौजेले बताए। यसरी गाउँमा चोरको बिगबिगी हुँदा प्रहरी प्रशासन भने मौन देखिएको स्थानीयले बताउँदैआएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नविनकिशोर प्रधानले चोरीका घटनाका उजुरी आएको बताउँदै जिल्लामा चोरीका घटना बढेकाले अनुसन्धानका लागि ७५ जनाको अप्रेसन फोर्स गठन गरी परिचालन भएको बताए ।
अस्लेवामा चोरी हुँदाको अर्को दिन स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका पाँच छ वटा घरहरूमा तोडफोड गरी चोरी भएको प्रहरीले जनाएको छ ।
