महान साम्यवादी आदर्शका निष्ठावान् कवि एवं जनपत्रकार कृष्णसेन इच्छुकको सहादत भएको २२ बर्ष पुगेको छ । यो सन्दर्भमा कामरेड कृष्णसेन इच्छुकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँप्रति रक्तरञ्जित अभिवादन व्यक्त गर्दछौं ।
कमरेड इच्छुकले नेपाललाई सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवादबाट मुक्त गर्न, स्वाधीन, समुन्नत र सुखी राष्ट्रमा परिवर्तन गर्ने सपना देख्नुभयो । उहाँ शव्द र कर्ममा एक हुनुहुन्थ्यो, एउटै जीवन बाँच्नुभयो, दोहोरो वा दुई किसिमको जीवन बाँच्नुभएन ।
जीवनभर उहाँले प्रतिक्रियावादी सत्ताविरुद्ध कविता लेखन र जनपत्रकारिताको माध्यमबाट कलममार्फत् दुत्कार्दै नयाँ उन्नत समाजको सपना देख्नुभयो । उहाँले छोडेर जानुभएका सिर्जनाहरु अहिलेपनि कालजयी रहेका छन् । यसबारे यहाँ सबै पर्याप्त चर्चा सम्भव छैन । यति मात्र भनौं, कवि इच्छुकका लेखन सिर्जनाहरु राम्रा, मीठा, सरल र स्तरीय छन् । धेरै कविता उच्च र उदात्त सौन्दर्य चेतनाले परिपूर्ण छन् । उहाँले उत्पीडित जनताका कविता लेख्नुभयो र समाज परिवर्तनमा क्रियाशील मानिसहरूको गाथा गाउनुभयो । दमनको प्रतिरोधमा कविता रच्नुभयो । यसर्थ उहाँ इमान्दार कवि र जनपत्रकार हुनुहुन्थ्यो ।
उहाँले कवितामार्फत् समाजवादी यथार्थवादी धारालाई अघि बढाउनुभयो । प्रतिक्रियावादीका पर्खालहरू ढाल्नुभयो । कृष्ण सेन ‘इच्छुक’ राष्ट्र र जनताका प्रतिभा हुनुहुन्थ्यो्, उहाँलाई सीमित र सङ्कीर्ण घेराबाट बाहिर निकाल्नु जरुरी छ ।
कामरेड इच्छुकको जीवन खुला पुस्तक हो, जसले पनि पढ्न सक्छ । उहाँले सङ्घर्षशील सार्थक जीवन बाँच्नुभयो, आस्थामा अटल र अडिग रहनुभयो, मृत्युसम्मुख उभिंदा पनि झुक्नुभएन । प्रहरी हिरासतमै उहाँको गुपचुप हत्या गरियो ।
सभ्य संसारमा यो कलङ्कको विषय हो । तर, इच्छुकको सहादतलाई निरपेक्षीकरण भने गरिनु हुँदैन, जनयुद्धमा मारिएका हजारौं योद्धाहरूकै सापेक्षतामा हेर्नुपर्दछ । कलाकर्म विशिष्ट भएपनि कवि एवं पत्रकार जनताभन्दा ठूलो हुन सक्दैन । कवि इच्छुकजस्तै बेपत्ता बनाएर गुपचुप मारिएका धेरै हुनुहुन्छ, उहाँहरु मारिएको भन्ने खवर पनि छैन । राज्यले उहाँहरुको खोजीनीति गर्नैपर्दछ । हामीले इच्छुकलाई क्रान्तिकारी रूपवादको प्रहारबाट जोगाउनुपर्छ । इच्छुकका काँधमा चढेर सत्तामा पुगेकाहरुले क्रान्तिकारी सपनाहरुलाई धुमिल बनाएको छ । यसका विरुद्ध जमेर संघर्ष जरुरी छ ।
हामीले जनपत्रकारिता र सांस्कृतिक आन्दोलनमा उहाँको भूमिकालाई कहिल्यै विर्सन सक्दैनौं । उहाँका सपना अझै पूरा भएका छैनन् । एउटा उथलपुथलकारी क्रान्तिले मात्र उहाँका सपना पूरा हुन सक्छन् । कामरेड कृष्णसेन इच्छुक जनताको मनमनमा अजम्बरी बाँचिरहनु हुनेछ । क्रान्तिकारी झुपडीहरुमा इच्छुक चल्मलाइरहेका छन् । कामरेड इच्छुक, फेरिपनि लाल सलाम ।
जनबाटो परिवार
२०८० जेठ १३
फोटो : कान्तिपुर
