गुल्मी । नेकपा धुर्कोट गाउँपालिका गाउँपालिकाको नयाँगाउँ र वाग्लामा किसानका बाख्रालाई महिलामा प्रयोग गर्ने हर्मोन संगीनी सुई लगाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
पार्टी गाउँ कमिटी इन्चार्ज प्रकाश सीले मंगलबार एक वक्तव्य जारी गर्दै मानव स्वास्थ्यका लागि गम्भीर प्रतिकूल र दीर्घकालीन असर पुग्ने उक्त हर्मोन सुईको प्रयोग हुनुमा स्थानीय गाउँपालिका, ग्रामीण पशु स्वास्थ्य कार्यालय एवं यससित सम्बद्ध पशु प्राविधिक र कृषकको नाममा रहेका कथित नक्कली किसान र दलालहरु जिम्मेवार रहेको बताएका छन् ।
वक्तव्यमा उनले यो घटना जनताको स्वास्थ्यप्रति गरिएको गैरजिम्मेवार र लापरबाहीको पराकाष्ठा भएको बताउदै यो दलाल पुँजीवादले नाफाका लागि मानिसको स्वास्थ्यको न्युनतम मापदण्डलाई समेत ध्यान दिदैन भन्ने प्रमाण भएको बताएका छन् । उनले उक्त घटनाबारे गहिरो अध्ययन गरी गलत क्रियाकलापमा संलग्न पक्षलाई तत्काल कारवाही गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । उनले धुर्कोटबासी सम्पूर्ण जनसमुदायलाई सबै प्रकारका खाद्य पदार्थको उपभोग गर्दा आफै सचेत रहन समेत अपिल गरेका छन् ।

