बुटवल । नेकपा र सरकारबीच ३ बुँदे सहमति भएको लामो समय बितिसक्दा पनि सरकारले मुद्दा फिर्ता र जेलका बन्दी रिहा नगरेपछि नेकपाले सरकारमाथि दबाब बढाइरहेको छ।
असोज अन्तिम साता कपिलवस्तुमा नवौँ राष्ट्रिय महाधिवेशन गरेको नेकपाका शीर्ष नेतामध्ये एक एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।
‘प्रकाण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्।
भेटवार्ताको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै प्रवक्ता प्रकाण्डले लेखका छन्, ‘नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता।'
यद्यपि उनले भेटवार्ताको विषयबारे केही खुलाएका छैनन्। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका बेला तीन बुँदे सहमति गरेर शान्तिप्रक्रियामा आएको नेकपाले आफ्ना माग अझै पूरा नभएको बताउँदै आएको छ।
