बुटवल । मोसफलको राजधानी भनेर चिनिएको बुटवलमा रहेर श्रमजीवी वर्गको पक्षमा अनवरत कलम चलाउदै आउनु भएका पत्रकार टेक मास्कीको निधन भएको छ । डेँगी रोग लागेर उपचार गराइरहनु भएका पत्रकार लुम्बिनी प्रादेशिक अस्पतालमा गएराती ३ बजे निधन भएको हो ।
स्याङ्गजा स्थायी घर भएका राना लामो समयदेखि बिरामी थिए। उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उहाँको निधन भएको हो । डेंगुसंगै मिर्गौला र जण्डिसकोका बिरामी उहाँको उपचारका लागि पत्रकार महासंघले सक्रिय भूमिका निर्वाह गरिरहेको थियो ।
उपचारमा निरन्तर प्रयास गरिरहँदा पनि अन्नतः बचाउन नसकेको भन्दै पत्रकार महासंघ,रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले दुःख व्यक्त गरेका छन् । मृतक रानाको श्रद्धाञ्जलिका लागि बुधबार बिहान अस्पतालमा सहभागी हुन उहाँले आग्रह समेत गर्नुभएको छ ।
२ दशकभन्दा लामो पत्रकारिता गरेका मास्के नेपाल पत्रकार महासंघ,रुपन्देहीका पूर्व कार्यसमिति सदस्य,लुम्बिनी प्रदेश कमिटि सदस्य तथा रेडियो जागरण बुटवलको समाचार प्रमुख हुनुहुन्थ्यो । केहि वर्ष अघि मात्रै श्रीमती गुमाएका रानाका एक छोरा २ छोरी तीन सन्तान छन् । सरल,सादगी,पेशाप्रति बफादार र लगनशिल रानाको निधनले पत्रकारिता क्षेत्रमा अपूर्णनीय क्षति पुगेको छ ।
मास्कीको निधनपछि सामाजिक सञ्जालमा सरोकारवालाहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । रुपन्देहीस्थित नेपाल पत्रकार महासंघ, विभिन्न पत्रकार संगठन एवं पत्रकारहरुले मास्कीको निधनले स्तब्ध भएको भन्दै श्रद्धाञ्जली एवं परिवारजनमा गहिरो समवेदना व्यक्त गरिरहेका छन् । नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदीले मास्की रानाको निधनले अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।
पत्रकार एवं कलमजीवी मास्की संघर्षशील, सादगी र असल पत्रकार हुनुहुन्थ्यो । श्रमजीवी वर्गको पक्षमा समर्पित पत्रकार मास्कीप्रति जनबाटो परिवार (www.janabato.com) भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको परिवारजनमा गहिरो समेवदना व्यक्त गर्दछौं ।
