२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
--4938

सरकारको खातामा ३७ अर्ब १८ करोड घाटा, रेमिट्यान्स दुई महिनामा १ खर्ब ८७ अर्ब भित्रियो

सरकारको खातामा ३७ अर्ब १८ करोड घाटा, रेमिट्यान्स दुई महिनामा १ खर्ब ८७ अर्ब भित्रियो

शुक्रवार, कार्तिक ४ २०७९
शुक्रवार, कार्तिक ४ २०७९
  •  बुटवल । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना अवधिमा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
     
    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा चालु खाता २९ करोड १७ लाख अमेरिकी डलरले घाटामा रहेको देखिएको हो । गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा चालु खाता घाटा एक खर्ब ६ अर्ब आठ करोड रुपैयाँ बराबर थियो ।
     
    त्यस्तै भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोड रुपैयाँले घाटामा थियो ।
     
    चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चितिमा दुई दशमलव दुई प्रतिशतले कमी आई भदौ मसान्तमा ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँ कायम भएको छ ।
     
    कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग १० खर्ब ५१ अर्ब ५३ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग एक खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ छ । भदौ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव तीन प्रतिशत छ ।
     
    चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले नौ महिनाको वस्तु आयात र सात दशमलव सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।
     
    यही अवधिमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात क्रमशः २४ दशमलव पाँच प्रतिशत, ६४ दशमलव छ प्रतिशत र २१ दशमलव आठ प्रतिशत छ । 

    रेमिट्यान्स १९ प्रतिशतले वृद्धि, दुई महिनामा १ खर्ब ८७ अर्ब भित्रियो

    दुई महिनामा एक खर्ब ८७ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । चालू आर्थिक वर्षको दुई महिना साउन र भदौ अन्त्यसम्म एक खर्ब ८७ अर्ब चार करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनासम्मको विवरणमा उल्लेख छ । 

    राष्ट्र बैंकका अनुसार अघिल्लो महिना अनुसार रेमिट्यान्स आप्रवाह १९ दशमलव आठ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमवल आठ प्रतिशतले घटेको थियो ।

    अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ११ दशमलव तीन प्रतिशतले वृद्धि भई एक अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव तीन प्रतिशतले घटेको थियो । 

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक सय ७० प्रतिशतले वृद्धि भई एक लाख तीन हजार आठ सय ९८ पुगेको छ ।

    त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ७० दशमलव ६ प्रतिशतले वृद्धि भएर ३९ हजार एक ८९ पुगेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या चार सय २९ दशमलव पाँच प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १९ दशमलव पाँच प्रतिशतले वृद्धि भई दुई खर्ब ६ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६ प्रतिशतले घटेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij