बुटवल । दशैंको अवसरमा गाउँ फर्किएका यात्रुहरुलाई व्यवसायीहरुले दोब्बर भाडा लिएर ब्रम्हलुट मच्चाएका छन् । काठमाडौं, बुटवल, पोखरा, चितवनलगायतका शहरबाट पाल्पा, गुल्मी, रोल्पा, रुकुम, प्युठान, स्याङ्जालगायत पहाडी जिल्लाहरुमा जाने यात्रुहरुबाट व्यवसायीहरुले दोब्बर भाडा लिएको गुनासो आइरहेका छन् ।
आइतबारसम्म काठमाडौंबाट मात्रै १७ लाख यात्रुहरु बाहिरिएका छन् । बुटवलबाट गुल्मी, पाल्पा, अर्घाखाँचीका सुदूर गाउँहरुमा पुग्ने यात्रुहरुले दोब्बर भाडा तिर्न बाध्य भएको बताएका छन् । काठमाडौं बुटवलबाट पहाडी जिल्लाहरुमा जानेक्रममा ट्राफिक जाम र ट्राफिक प्रहरीले यात्रुलाई हैरानी पारेको समेत बताइएको छ । गाउँ फर्किएका यात्रुहरुबाट दोब्बर भाडा लिइएपनि यातायात व्यवसायी संघ, गृहमन्त्रालय र स्थानीय सरकारले नियन्त्रण गर्न सकेको छैन ।
सहरमा बसेर सामान्य पेशा व्यवसाय गरी जीविका चलाउदै आएका यात्रुहरुले दोब्बर भाडा तिनुपरेपछि उनीहरुका लागी दशै उत्सव नभएर दशा भएको छ । यात्रुबाट चर्को भाडा असुली भइरहँदा सरोकारवालाहरु चुपचाप रहेका छन् । दशैंको बेला सडकहरु सुधार गर्नुपर्नेमा एम्बुस जस्ता भएकाले अप्रिय दुर्घटनाको सम्भावना समेत रहेको छ । सडक सुधार नहुनुमा स्थानीय निकायको गैरजिम्मवारी प्रवृत्ति भएको बताइएको छ ।
गुल्मीका स्थानीय एक जनप्रतिनिधिले औपचारिकताका लागी मात्र गाउँमा विग्रिएको डोजर पठाउनु र जनप्रतिनिधि आफै कमिसनको चक्करमा लाग्नुले सडक सुधारमा ढिलो भएको बताएका छन् । यातायात व्यवसायीहरुको चर्को भाडा असुली नरोकिए परिस्थिति गम्भीर हुने बताइएको छ ।
