बुटवल । क्रान्तिकारी सांस्कृतिक क्षेत्रमा मूलधारको रुपमा रहँदै आएको नेकपा निकट सांस्कृतिकमोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक काठमाडौमा सम्पन्न भएको छ ।
बैठक नेकपाका महासचिव विप्लवको प्रमुख आतिथ्यता, केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगरको उपस्थितिमा भएको हो । बैठकमा प्रशिक्षण मन्तव्य राख्दै महासचिव विप्लवले साहित्य क्रान्तिको साधन भएको बताउनुभएको छ ।
महासचिव विप्लवले रुसी क्रान्तिको सन्दर्भमा कमरेड लेनिनले साहित्यलाई दाँत र पेचकिला भन्नुभएको प्रसंग जोड्दै उहाँले साहित्यको पक्षधरता हुने बताउनुभयो ।
उहाँले साहित्य वर्गीय दृष्टिले श्रमिकवर्गको पक्षमा, सत्ताको दृष्टिले वैज्ञानिक समाजवादको पक्षमा र संघर्षको दृष्टिले वर्गसंघर्ष र एकीकृत जनक्रान्तिको पक्षमा हुनुपर्ने बताउनुभयो । महासचिव विप्लवले लेखक साहित्यकार एवं संस्कृतिकर्मीहरु साहित्यको पक्षधरता मात्रनभएर प्रतिबद्धतासहित संघर्षमा हुनुपर्ने बताउनुभयो ।
उहाँले संस्कृति राजनीतिबाट अलग हुन्छ भन्ने गलत भएको भन्दै जनताको पक्षमा सिर्जनाका लागी कयौं अप्ठ्यारा र संघर्षबाट गुज्रनुपर्ने बताउनुभयो ।
महासचिव विप्लवले पार्टी जीवनबारे विश्लेषण गर्दै वैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म क्रान्तिकारी आन्दोलनको लामो यात्रामा कयौं गलत प्रवृत्तिहरु पार्टी र क्रान्तिबाट भाग्दै जाने बताउदै यसको पछिल्लो उदाहरण धर्मेन्द्र र सुदर्शन भएको बताउनुभयो ।
उहाँले कञ्चनर सुदर्शनले क्रान्ति गर्छन् भनेर उनको पछाडि लाग्नु आफुलाई विसर्जन गर्नुभएको भन्दै पलायनवाद र अराजकता वादको एउटै प्रवृत्ति भएकाहरु सधै एकैठाउँमा हुने समेत बताउनुभयो ।
महासचिव विप्लवले दलाल संसदीय पुँजीवादी राज्यसत्ता पूर्ण रुपमा ध्वस्त नपार्दासम्म जनताको व्यवस्था नआउने भन्दै यसकालागी पार्टीले निरन्तर संघर्ष गर्ने बताउनुभयो । आलोचनाबाट अस्तित्व धान्दै आएका कतिपय लेखक संस्कृतिकर्मीहरु प्रतिलक्षित गर्दै महासचिव विप्लवले माक्र्सवादी साहित्यकार एवं संस्कृतिकर्मीहरु आलोचनात्मक चेत सहितको हुनुपर्ने तर आलोचना वर्ग संघर्षको पक्षमा हुनुपर्ने बताउनुभयो ।
महासचिव विप्लवले साम्राज्यवादले नेपाललाई कम्युनिस्ट रहित पश्चिम बंगाल बनाउन खोजिरहेको भन्दै यसका विरुद्ध डटेर लड्ने बताउनुभयो । उहाँले राज्य सत्ता बन्दुकको नालबाट निस्कने भन्दै अहिले विचारको बन्दुक बोकेर लड्ने बताउनुभयो ।
महासचिव विप्लवले पार्टी विरुद्ध प्रतिक्रियावादीहरु, फुटवाद र अवसरवादीहरुले चौतर्फी हमला गर्ने प्रयास गरेपनियसले आफुलाई कुनै फरक नपार्ने बताउनुभयो ।
प्रशिक्षणमा नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर, पार्टी केन्द्रीय सदस्यएवं महासंघका केन्द्रीय अध्यक्ष माइला लामा लगायतले प्रशिक्षण दिनुभएको थियो ।
बैठकले ७ जनालाई केन्द्रीय सदस्यमाथप गरेको छ । जसमा रुपन्देहीबाट विहानी मगर, मोरङबाट देवराज, संखुवासभाबाट सुजन, कालीकाटेबाट समग्र बम, सामना परिवारबाट हेमराज, चन्दन, कुमार रहनुभएको छ ।
महासंघको ३३ सदस्यीय केन्द्रीय समितिमध्ये बैठकमा ४ जना खेम थपलिया, अशोक सुवेदी, ढुण्डीराजअधिकारी संगठन छोडेर गएपछि अन्य सम्पूर्ण केन्द्रीय सदस्यएवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैठकले रिक्तपदपूर्ति, कार्यविभाजन, आंगिक संगठनहरुबारे लगायत विभिन्न महत्वपूर्ण निर्णयहरु समेत गरेको बताइएको छ ।
