मकवानपुर। नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको २१ औं पूर्ण बैठक सम्पन्न भएको छ। बैठक बुधबार पार्टी कार्यलय, हेटौंडामा बसेको हो। बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज सन्देश पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।
महान सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरि सुरु भएको बैठकमा जिल्लाका सबै सदस्यहरुले आ-आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेस गरेका थिए। बैठकमा पार्टीको ८ औं केन्द्रिय समितिको १३ औं पूर्ण बैठकले पारित गरेको निर्णयहरु समावेश गरेको परिपत्र वाचन गरिएको थियो। बैठकका प्रमुख अतिथी सन्देशले पार्टी केन्द्रको नीतिमा आधारित रहेर भाव संप्रेसण गरेका थिए।
बुधबार सम्पन्न नेकपा मकवानपुरको २१ औं पूर्ण बैठकमा गत चैत्र २६ मा बसेको जिल्ला समितिको २० औं पूर्ण बैठकले निर्णय गरेको कार्य सम्पादन सम्बन्धि समिक्षात्मक विश्लेषण पनि भएको छ। बैठकका प्रमुख अतिथी सन्देशले विगतमा भएको काम कार्वाहीलाई आत्मसात गर्दै अब नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने ध्येयका साथ अघि बढ्न सबैलाई प्रेरित गरेका छन्।
बैठकले आगमी दिनमा हुने पार्टीको ९ औं महाधिवेशनको तयारीका लागि विशेष निर्णय गरेको छ। बैठकले क्रान्तिको यात्रामा आइ लाग्ने जस्तोसुकै परिस्थितिको पनि सामना गर्दै अघि बढ्ने प्रतिबद्धता समेत गरेको छ। त्यस्तै क्रान्ति प्रेमी सबै पार्टी पंक्ति र जनसमुदायलाई एकसाथ लिएर जानुपर्ने विषयलाई पनि बैठकले स्पष्ट पारेको छ। यसरी जिल्ला सेक्रेटरी वाटरको अध्यक्षतामा बसेको ४५ सदस्यीय जिल्ला समितिको २१ औं पूर्ण बैठक विभिन्न महत्त्वपूर्ण र ऐतिहासिक निर्णय गर्दै समापन भएको छ।
