धर्मेन्द्र समूहले नेकपाविरुद्ध भ्रमपूर्ण आरोपहरु लगाउदै आएको छ । त्यो आरोप नयाँ त होइन, प्रतिक्रियावादीहरुले नेकपाविरुद्ध यसरी नै आरोप लगाउदै आएका छन् । प्रतिक्रियावादीहरुले नेकपाको क्रान्तिकारी नीति र नेतृत्वविरुद्ध बिषवमन गर्ने र क्रान्तिलाई कमजोर बनाउने गलत आशयका साथ यस्तो आरोप लगाउदै आएका छन् । धर्मेन्द्र समूह पार्टी र क्रान्तिबाट पलायन भएपछि अहिले ठीक त्यही प्रतिक्रियावादीहरुको सेवा गर्ने विन्दुमा पुगेको छ ।
नेकपाबाट अहिले धर्मेन्द्र नेतृत्वको एउटा सानो समूह चोइटिएर निस्किए पनि त्यो समूह कार्यक्रमिक दृष्टिले अन्यौल र दिशाविहीन बन्न पुगेको छ । आफ्नै स्पष्ट नीति, सिद्धान्त र कार्यदिशाको अभावमा ताबाको माछो भुंग्रोमाझैं भएको छ । स्पष्ट सिद्धान्तको आधारमा पार्टी निर्माण नहुने नभएपछि कम्युनिस्ट नीति, सिद्धान्त र झण्डालाई समेत तोडमोड गरी नस्लीय राजनीति गर्दै आएका आहुति र गोपाल किराँतीको दैलोमा ढोका ढकढक्याउन पुगेको समाचारहरु आइरहेका छन् । कठै, उनीहरुको क्रान्तिकारी चरित्र ! विप्लवलाई संशोधनवादी देखेर आहुति र किराँतीलाई क्रान्तिकारी देख्न थालेछन् ! बडो अचम्मको क्रान्तिकारिता ! प्रचण्डलाई भेटेर ‘पार्टीको नाम फेरौं’ भन्दै पार्टी एकताका लागी प्रस्ताव गरेको कुरा समेत बाहिर आएका छन् ।
‘बृहत कम्युनिस्ट एकता’को नाउँमा कम्युनिस्ट सिद्धान्तबाट उहिल्यै च्युत भएको एमालेसहितको एकताको पक्षमा बहस चलाउदै आएको त विदितै छ । उनीहरुको कार्यदिशा जनयुद्ध, नयाँ जनवाद हो कि वैज्ञानिक समाजवाद ? त्यो पनि प्रष्ट छैन । ‘एकीकृत जनयुद्ध’ पदावली नै गञ्जागोल छ । जनयुद्ध आफैमा एकीकृत युद्ध हो, अर्थात् समग्र युद्ध हो, एकीकृत भनिरहनु आवश्यक छैन । प्रचण्ड, आहुति, किराँती, केपी वलीहरुसँग कुन राजनीतिक लाइनको आधारमा एकता हुने ? त्यो पनि प्रष्ट छैन । एकप्रकारले अहिले धर्मेन्द्र समूहका अगाडि कुनै स्पष्ट राजनीतिक कार्यदिशा नभएको कुरा प्रष्ट छ । अर्थात् यो समूह कार्यदिशाविहीन अन्यौलताको उकुसमुकुस भुमरीमा अत्तालिएको छ ।
प्रतिबन्धको बेला नेकपाबाट शुद्धिकरणमा परेका एकजना सिसिएम कृष्ण धमला ‘गम्भीर’ले छुट्टै पार्टी बनाएका थिए । माणिक लामा नामका एकजना नेताले विप्लवबाट विद्रोह गरेको भन्दै नयाँ पार्टी बनाएका थिए । उनीहरुले आफुलाई सबैभन्दा सच्चा क्रान्तिकारी नेता बताउँथे तर अहिले उनीहरुको र उनका पार्टीको नाम अस्तित्वमा समेत छैन । ‘विप्लवले क्रान्ति गर्दैनन्’ भन्दै पार्टी छाडेका तथाकथित ‘क्रान्तिकारी’ नेताहरु पदम राई, जीवन्त र पारसमणिहरु कुन महासागरमा भाँसिए ? राजनीतिमा अहिले उनीहरुको कुनै अस्तित्व छैन ।
बेग्लै पार्टी बनाउनु कुनै कठिन कुरा होइन, तर जसले विप्लवलाई संशोधनवादी भन्दै धारेहात लगाएर पार्टीबाट बाहिरिएका थिए र छन्, उनीहरु अहिले गुगलमा समेत भेटिदैनन् । (हामीलाई यी पात्रहरुका नाम सम्झिन पुरै एकदिन कोशिस गर्नुगर्यो तर सम्झिन सकिएन । नेकपाका एक नेतालाई सोधेपछि मात्र उल्लेख गर्न सकियो) अर्थात् पार्टी छाडेर गएका यी पात्रहरु जनताको मस्तिष्कबाट डाइनोसरजस्तै लोप भइसकेका छन् । उनीहरुले नेकपामाथि लगाएका आरोपहरु गैरमाक्र्सवादी, अधिभूतवादी र अवस्तुवादी थिए भन्ने यसबाट प्रमाणित हुन्छ ।
धर्मेन्द्र समूहको नियति पनि यस्तै हुने कुरामा कुनै सन्देह छैन । किनकी उनीहरु कुनै दर्शन, विचार र सिद्धान्तको आधारमा नभई सनकमा विप्लवलाई ‘देखाइदिन’ पार्टी बनाएका छन् र उनीहरुको समूहमा कुनैबेला नेकपाबाट आर्थिक, सांस्कृतिक र सांगठनिक अराजकताको कारवाहीमा परेका र प्रतिबन्धको बेला दुश्मनका सामु आत्मसमर्पण गरेकाहरुको भीडभाड रहेको छ । कुनैबेला विप्लवको ब्राण्ड बेचेर गुजारा चलाएका र पार्टीको गोप्य सुचना बेचेर खादै आएका फोहोरहरु थुप्रिने डम्पिङसाइटजस्तै अहिले धर्मेन्द्र समूह बनेको छ ।
त्यसकारण उनीहरुबाट क्रान्ति हुने र क्रान्तिकारी पार्टी बन्ने कुरा दिउँसै रात पार्नेबाहेक अरु केही पनि होइन । त्यसकारण उनीहरुलाई अब एउटा मात्रै बाटो खुला छ, त्यो हो–बैद्य समूहमा विलीन हुनु वा प्रचण्ड समूहमा विलिन हुनु । बैद्य समूहको पार्टीभित्र पनि संघीयतासम्बन्धी विवाद र जातिवादको प्रश्न रहेकोले कि संघीयता स्वीकार गर्नुपर्यो कि त यो पनि उनीहरुका लागी बाटो बन्द हुने देखिन्छ । प्रचण्ड समूहमा उनीहरुको कुनै राजनीतिक हैसियत हुदैन । त्यसकारण धर्मेन्द्र समूह राजनीतिक र वैचारिक निकासविहीनता र अन्यौलताका कारण कुहिरोभित्र हराएको कागजस्तै भएको छ ।
