२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4514

नेकपा फुटेको कि फुटाइएको हो ?

नेकपा फुटेको कि फुटाइएको हो ?

'नेकपा फुटेको होइन, धर्मेन्द्र समूहले फुटाएको हो'

मंगलवार, जेठ १७ २०७९
मंगलवार, जेठ १७ २०७९
  • नेकपा निर्वाचन प्रयोगको कार्यनीतिक बिषयलाई लिएर विभाजन भएको छ । पार्टीभित्र दर्शन, विचार, सिद्धान्त, नीति, कार्यक्रम र संगठनात्मक प्रणालीमा कुनै विवाद थिएन र छैन । केन्द्रीय समितिको १२ औं पूर्ण बैठकमा कार्यनीति सम्बन्धी सामान्य विवाद भएपनि फरक दस्तावेज थिएन । तर धर्मेन्द्र समूहले नयाँ पार्टी बनाएको सार्वजनिक मिडियामा आइरहेको छ । केन्द्रीय समितिको बैठकमा फरक दस्तावेज पेस गरेर सैद्धान्तिक विमति नभएको कुरालाई अस्वीकार गर्नु इमान्दारिता होइन । बैठकमा जब आर्थिक र सांस्कृतिक अराजकताको बिषय उठेपछि अत्तालिएर पार्टी अनुशासनभित्र बस्न नसकिने र अनुशासनहीनहरुको छुट्टै पार्टी बनाएर जान्छौं भनेको भए राजनीतिक इमान्दारिता हुन्थ्यो तर त्यसो पनि भएन । 

    पार्टी विभाजन हुनै हुँदैन भन्ने होइन । दर्शन, विचार, सिद्धान्त र संगठनात्मक प्रणालीमा भिन्नता आयो भने अलग हुनु राम्रो हुन्छ । यस्तो अवस्थामा महासचिव विप्लव स्वयं घोषणा कार्यक्रममा गएर शुभकामना दिएपनि फरक पर्दैन । तर उही विचार, सिद्धान्त, नीति र संगठनात्मक प्रणाली अपनाएर पार्टी विभाजन गर्नु धर्मेन्द्र महासचिव र सुदर्शन प्रवक्ता बन्ने रहर बाहेक केही होइन । दुईजनाको राजनीतिक भविष्य बचाइदिनका लागी पार्टी फुटाउनु गम्भीर अपराध हो । धर्मेन्द्र र सुदर्शनले अहिले यही केटाकेटीपन प्रदर्शन गरेर जग हँसाइरहेका छन् । उनीहरुको समूहको नवपलायनवाद र नवविसर्जनवादले यही कुरालाई पुष्टि गरिरहेको छ । उनको आत्मकेन्द्रीत, महत्वाकांक्षा र कुण्ठाले यही कुरालाई बताइरहेको छ । त्यतिमात्रै होइन, उनको समूहमा देखापरेको खुरापाती, गालीगलौज, गैरराजनीतिक चरित्रले उनीहरुको राजनीतिक क्षमतालाई समेत प्रष्ट पारिरहेको छ । उनको समूहमा जम्मा भएका पार्टी सूचना बेचेर खाने गुप्तचर, आर्थिक अराजकता र सांस्कृतिक कारवाहीमा परेर गन्हाएका फोहोरका डंगुरहरु, दुश्मनका सामु आत्मसमर्पण गरेर लत्रेका र पार्टी सदस्य समेत नभएका तर सामाजिक सञ्जालमा वितण्डता मच्चाएकाहरुका जमातहरुको चरित्र हेर्दा उनीहरुको राजनीतिक स्तर असाध्यै टिठ लाग्दो देखिन्छ ।   

    यहाँ प्रष्ट हुनुपर्ने बिषय छ, नेकपा फुटेको होइन, धर्मेन्द्र समूहले फुटाएको हो । नेकपाबाट पदमुक्त भएका धर्मेन्द्र र सुदर्शन समूहले २०७९ बैशाख २३ र २४ गते चितवनमा छुट्टै राष्ट्रिय भेला गरेर पार्टी फुटाएका छन् । उनीहरुले बैशाख २६ गते काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् नयाँ पार्टीको घोषणा गरेका छन् । यो नै पार्टी फुटाएको प्रमाण हो । नेकपाको विभाजन निश्चय पनि पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई पीडादायी नै छ । सहिद परिवारलाई पीेडाबोध बनाएको छ तर भविष्यमा उनीहरुले पनि त्यसको पीडा भोग्नेछन् ।

    नयाँ पार्टी गठन गरेका धर्मेन्द्र समूहले महासचिव विप्लवलाई कारवाही गरेको आरोप लगाएका छन् । धर्मेन्द्र र सुदर्शनभित्र पदमुक्त भएपछि निकै ठूलो छटपटाहट देखिएको थियो । उनीहरु पदमुक्त भएपछि पार्टी निर्णय र अनुशासनलाई मान्नुपथ्र्यो । जीवनभर राजनीति गरेर कपाल फुलाएका नेताले धैर्य गर्नुपर्दथ्यो । तर उनीहरुले त्यसो गरेनन् । किनभने कुरा पदमुक्तको मात्रै थिएन, कुरा उनीहरुको भित्र लुकेको नियतको थियो । नियत व्यवहारमा प्रष्ट देखिएको आएको छ ।

    अहिले पार्टीबाट अलग भएको भनिएको धर्मेन्द्र समूहले जुनसुकै तर्क गरेपनि उनीहरुका कुराहरु पुष्टि हुन सक्ने आधारहरु छैनन् । एउटै विचार, सिद्धान्त, राजनीति र कार्यक्रमलाई अगाडि बढाउनको लागि पार्टी अलग बनाउनुपर्ने कुनै आवश्यकता थिएन । पार्टीको कारवाहीमा परेपछि अलग पार्टी बनाउने कुरा सही तरिका थिएन । कारवाही ठीक थियो कि बेठीक ? भन्ने कुरा समयले पुष्टि गर्दै लैजान्छ । कतिपय कारवाही गलत रहेछन् भने पनि समयले पुष्टि गर्दछ । पार्टीले गरेको कारवाहीलाई गलत पुष्टि गर्नको लागी धर्मेन्द्रहरुले धैर्यता देखाउन सक्नुपथ्र्यो । यदि पार्टीले गरेको कारवाही गलत छ भने पार्टीभित्रै लड्न सक्नुपर्दथ्यो र पार्टी कार्यकर्तालाई प्रष्ट्याउन सक्नुपर्दथ्यो । वा केन्द्रीय समितिको बैठक वा महाधिवेशन कुनुपर्दथ्यो तर उनीहरुले बनाएको पार्टी फुटको औचित्य छेउटुप्पो पनि देखिएन । 

    रातोखबर साप्ताहिक नेकपाको वैधानिक पत्रिका थियो । रातोखबर यहाँसम्म ल्याउन पार्टीले निकै ठूलो लगानी गरेको थियो । यो नेकपाको नीति र विचारहरु सार्वजनिक गर्ने माध्यम थियो । पत्रिका सबैथोक त होइन, तर एउटा महत्वपूर्ण साधन थियो । रुसमा लेनिनले इस्क्रामार्फत् पार्टीको नीति र विचार सम्प्रेषण गर्नुहुन्थ्यो । त्यहाँको रुसी पार्टीमा विभाजन आएपछि इस्क्रा मेन्सेविकहरुले कब्जा गरेका थिए । लेनिनले ३६ अंक मात्र निकाल्न पाउनुभएको थियो । त्यसपछि कमरेड लेनिनले प्राब्दा पत्रिकामार्फत् मेन्सिविकहरुको राजनीतिक भण्डाफोर गर्दै समाजवादको प्रचार गर्नुभएको थियो । नेकपाभित्र पनि त्यस्तै भयो । रातोखबर नेपाली अनुहारका मेन्सेभिकहरुले कब्जा गरेका छन् । अब क्रान्तिकारीहरुका लागी नयाँ प्राब्दाको जरुरी भएको छ । नयाँ प्राब्दामार्फत् एकीकृत जनक्रान्तिको प्रचार गर्नेछन् । वैज्ञानिक समाजवादको पक्षमा जनमत निर्माण गर्नेछन् । नेकपाले यो काम गर्नेछ । 

    अहिले रातोखबर नेकपाविरुद्ध वितण्डतावादीहरुको अखडा बनेको छ । पार्टीको वैधानिक पत्रिकालाई पार्टीविरुद्धको अखडा बनाइएको छ । नियोजित प्रकारले नेकपाका विरुद्धमा प्रहार गरिएको छ । सार्वजनिक रुपमा पार्टीका विरुद्धमा प्रहार गरिएपछि पार्टीले यसको जवाफ नयाँ प्राब्दामार्फत् दिने नै छ । 

    धर्मेन्द्र समूहले विशेष महाधिवेशनको आयोजना गर्ने समाचार सार्वजनिक गरेको छ । दुईचार जना जम्मा भएर, कारवाहीमा परेर कुहिएका र गन्हाएकाहरुको भीड जम्मा पारेर र चार पानाको निबन्ध लेखेर घुक्र्याउँदैमा विशेष महाधिवेशन हुँदैन । छुट्टै प्रकारको विशेष महाधिवेशन गर्न छुट्टै दर्शन, सिद्धान्त, नीति, योजना र संगठनात्मक प्रणाली चाहिन्छ । तर त्यो देखिदैन । क्रान्ति गर्ने हो भने धर्मेन्द्र समूहभित्रका केही इमान्दारहरुलाई सच्चाएर पार्टीमा फर्काउनुपर्छ । क्रान्ति नगर्ने, घुर्काउने, पार्टी विधि नमान्ने र रमिता गरिरहने हो भने त्यही ‘सिद्राको व्यापार’ चलाएर बस्नु नै उपयुक्त हुन्छ । 

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij