
बुटवल । जेठ ७ गते ‘बेपत्ता योद्धा स्मरण दिवस’ को दिन । अन्तर्राष्ट्रिय जगतमा अगष्ट ३० लाई अन्तर्राष्ट्रिय बेपत्ता दिवसका रूपमा मनाउने गरे पनि नेपालको विशिष्ट अवस्था र परिवेशका कारण हामी फरक दिनमा ‘बेपत्ता योद्धा स्मरण दिवस’ मनाउँछौं ।
नेपालमा ७ जेठ २०५६ मा काठमाडौंको सुन्धारा तेबःहालबाट तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य दण्डपाणि न्यौपाने लगायतका तीन जना सदस्य नवीन राई, कमला शर्मा, मिलन नेपालीलाई गिरफ्तार गरी बेपत्ता बनाएको थियो । असाध्यै प्रतिकूल समय २०५६ सालमा संस्थागत रूपमा राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालको स्थापना गरी २०६८ सालदेखि पहिलो चोटि नेपालमा बेपत्ता योद्धा स्मरण दिवस मनाउन शुरुआत गरिएको थियो ।
राज्यले मुक्तिगामी आन्दोलनमा सरिक भएका र राजनीतिक आस्था राखेकै कारण बलपूर्वक बेपत्ता पार्ने कार्यको थालनी गरेको कालो दिनको रूपमा हरेक वर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आइरहेका छौं ।
५ मंसीर २०६३ मा सम्पन्न विस्तृत शान्ति सम्झौतामा उल्लेख भए अनुसार ६० दिनभित्र बेपत्ताहरूको यथार्थ अवस्था परिवारलाई जानकारी दिने भनियो । नेपालको अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौतामा सशस्त्र द्वन्द्वको क्रममा मानवअधिकारको गम्भीर उल्लङ्घन गर्ने तथा मानवता विरुद्धको अपराधमा संलग्न व्यक्तिहरूको बारेमा सत्य अन्वेषण र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न आपसी सहमतिबाट उच्चस्तरीय आयोग गठन गर्ने व्यवस्था गरियो ।
नेपालको अन्तरिम संविधान, २०६३ मा सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको सम्बन्धमा गठित छानबिन आयोगको प्रतिवेदनको आधारमा त्यस्ता व्यक्तिहरूका पीडित परिवारलाई राहत उपलब्ध गराउने प्रावधान पनि राखिए । २८ वैशाख २०७१ मा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन जारी भयो ।
व्यक्ति बेपत्ता पार्ने सम्बन्धी घटनाको छानबिन गरी वास्तविक सत्य, तथ्य जनसमक्ष ल्याउन, घटनाबाट पीडित व्यक्तिलाई परिचयपत्र प्रदान गरी परिपूरणको व्यवस्था गर्न र त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कानूनी कारबाहीको लागी सिफारिश गर्ने समेतको उद्देश्य सहित दुई छुट्टाछुट्टै आयोग गठन भए ।
आयोगको ऐन एवं अन्तर्राष्ट्रिय कानून समेतले व्यक्ति बेपत्ता पार्ने कार्यलाई मानवअधिकारको गम्भीर उल्लङ्घन र मानवता विरुद्धको अपराध भनी परिभाषित ग¥यो । तर, आज पनि समस्या ज्यूँका त्यूँ नै छ ।
