बुटवल । सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी छन् । बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै उनले आफूलाई कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलाएकी हुन् ।
प्रतियोगितामा दोस्रो भएकी उनले कार्यक्रमपछि ‘सक्सेस पार्टी’का लागि भन्दै एभरेष्ट होटलमा बोलाएर आफूमाथि हिंसा भएको खुलाएकी छन् । ‘कार्यक्रम सकिएपछि उनले एक दिन कल गरेर सक्सेस पार्टी छ, रेडी भएर आउनू भनेका थिए,’ पीडितले भनेकी छन्, ‘म उनले बोलाए अनुसार होटलमा जाँदा अरु कोही देखिनँ, अरु खोइ त भनेर सोध्दा उनले तिमी धेरै चाँडो आयौं, पार्टी ६-७ बजेदेखि छ भनेका थिए ।’
केहीबेरपछि होटलका कर्मचारीले आफूलाई ‘लेमनेड’ दिएको उनले बताएकी छन् । तर त्यो खाएको १०-१५ मिनेटमा आफू लठ्ठिएको उनको भनाइ छ । ‘त्यसपछि मैले त्यो व्यक्तिलाई म घर जान चाहन्छु, मलाई असहज महसुस भयो भनेकी थिएँ,’ उनले भनिन्, ‘तर उनले तिमी विजेता भएर यस्तो भन्ने ? मिडिया अनि अरुले के सोच्छ भन्दै बस्न दबाब थिए ।’
आफूलाई यौन हिंसा गर्ने व्यक्तिले ‘केटीहरुले धेरै पिउन सक्छन्, समस्या हुनसक्छ भनेर राख्नलाई रुम लिएको’ बताएको र त्यहाँ आराम गर्न भनेको उनले भनेकी छन् । ‘गएर रेस्ट गर, सबै आएपछि उठाउन बोलाउँछु भनेको थियो,’ उनले भनेकी छन्, ‘तर म बेहोसीमा थिएँ, मैले उसले जबरजस्ती करणी गरिरहेको थाहा पाएँ । त्यो एकदमै दुःखदायी थियो ।’ उनले बिहान साढे ४-५ बजे होस खुल्दा आफू र ती व्यक्तिलाई नग्न अवस्थामा पाएको बताएकी छन् ।
त्यहाँ आफू एकदमै रोइरहेका बेला ती व्यक्तिले आफ्नो झोलामा २० हजार हालिदिएर उल्टै ‘तलाईं पैसा चाहिएको थियो, त्यसैले तैंले भने अनुसार नै सबै भएको’ भन्दै धम्क्याएको उनले बताएकी छन् । ‘मैले त्यतिबेला मलाई के भयो भनेर विश्वासै गर्न सकेको थिइनँ, किनकि, म जत्तिको मान्छे पनि बलात्कृत हुन्छु होला भनेर मैले कल्पनै गरेको थिइनँ,’ उनले भनेकी छन् ।
