कम्युनिस्ट पार्टी सिद्धान्ततः समाजवादको पक्षमा रहेको हुन्छ । कम्युनिस्ट पार्टीको उद्देश्यमा समाजलाई शोषणरहित बनाउने हो । अर्थात् श्रमिक वर्गको आफ्नो व्यवस्था भनेको वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवादको स्थापना गर्न वर्तमान दलाल संसदीय पुँजीवादी व्यवस्थाको अन्त्य हुन जरुरी छ । पुँजीवादी व्यवस्थाको अन्त्य संघर्षबाट मात्र सम्भव छ । यसका लागी जनतालाई राजनीतिक एवं सैद्धान्तिक दृष्टिले सचेत र प्रशिक्षित गर्न आवश्यक छ । यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले मात्र गर्दछ । नेपालमा धेरै प्रकारका कम्युनिस्टहरु रहेका छन् । एकथरि कम्युनिस्टहरु हँसिया हथौडाको प्रयोग गर्छन् तर व्यवहारमा पुँजीवादी संसदीय व्यवस्थाको सेवा गर्छन् । अर्थात् दलालहरुको सेवा गरिरहेका छन् । अर्काथरी कम्युनिस्ट छन् जसले मानव जातिको मुक्तिका लागी बलिदान दिन तयार छन् । पहिलो थरी सिद्धान्ततः कम्युनिस्ट होइनन्, दोस्रोथरी कम्युनिस्ट हुन् । यिनले विचार र व्यवहारको संयोजन गरी क्रान्तिलाई अगाडी बढाउँछन् ।
संसदीय कम्युनिस्टहरु आफुलाई कम्युनिस्ट पार्टी नै भन्छन् तर गुण वा चरित्रमा कम्युनिस्ट छैनन् । बरु कम्युनिस्ट सिद्धान्तको बदनाम गरिरहेका छन् । उनीहरु संसदीय निर्वाचनमार्फत् समाजवाद आउने नक्कली कुरा गर्छन् । वास्तविक क्रान्तिकारीहरुमाथि प्रतिबन्ध लगाउँछन् र साम्राज्यवादको सेवा गर्छन् । एकथरी कम्युनिस्ट छन् जो फुटमा रमाउँछन् , जीवनभर क्रान्तिको कुरा गर्छन् तर व्यवहारमा सबैभन्दा अवसरवादी, फुटवादी, अराजकतावादी र क्रान्तिलाई आवेग, उत्तेजनामा बुझ्छन् । अन्ततः उनीहरुले प्रतिक्रियावादी र साम्राज्यवादकै सेवा गरिरहेका छन् । उनीहरु फेसबुकमा क्रान्ति गर्छन्, फेसबुकमा संगठन बनाउँछन् र जनतालाई भ्रमित गर्छन् ।
नेपालमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीले आफुलाई कम्युनिस्ट भन्छन् तर व्यवहार र चरित्रमा कांग्रेस भन्दा कुनै भिन्न देखिदैनन् । उनीहरुले संविधानमा समाजवाद लेखेका छन् तर जनताको अवस्था दिनप्रतिदिन संकटपूर्ण बन्दै गएको छ । उनीहरु शान्तिपूर्ण चुनावमार्फत् नेपालमा समाजवाद ल्याउने तर्क गरिरहेका छन् जुन कुरा जनतालाई भ्रम दिने बाहेक केही होइन । किनकी समाजवाद शान्तिपूर्ण निर्वाचनमार्फत् सम्भव छैन । यसका लागी वर्गसंघर्ष जरुरी छ ।
यदि जनताको व्यवस्था प्राप्त गर्ने हो भने संघर्षको विकल्प छैन । वैज्ञानिक समाजवाद नै जनताको व्यवस्था हो । वैज्ञानिक समाजवादका लागी एकीकृत जनक्रान्ति आवश्यक छ । अर्थात् संघर्षलाई एकीकृत नगरी क्रान्ति सम्पन्न हुन सक्दैन । क्रान्ति उत्तेजना र आवेगमा हुँदैन, क्रान्तिकारी पार्टी, क्रान्तिकारी नेतृत्व र क्रान्तिकारी संगठन अनिवार्य हुन्छ । फेसबुके क्रान्तिले जनताको जीवन बदलिदैन । संसदीय बाकसमा भोट हालेर पनि क्रान्ति हुँदैन ।
