कपिलवस्तु । कपिलवस्तुका डीएफओले आफ्नो काठमाडौंस्थित घर सुन्दरीकरणका लागि सरकारी स्रोतसाधनको दुरुपयोग गरेका छन् ।
डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन वन प्रमुख विजयराज सुवेदीले गोदावरीमा रहेको घरमा काठैकाठको गोलघर बनाउन भन्दै २० क्यूफिट साल काठ र १ मिनी ट्रक खर काठमाडौं पठाएका हुन् ।
शनिबार सार्वजनिक बिदाको दिन तिलौराकोट साझेदारी बनको लु १ क ९२७ नम्बरको मिनी ट्रकमा उनले उक्त सामान पठाएका हुन् । शुक्रबार राति करिब ३ बजे इलाका प्रहरी कार्यालय पिपराबाट उक्त सवारी जिल्ला बाहिरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
गोरुसिंगे घर भएका चालक राजु चौधरीले चलाएको उक्त गाडीलाई पालले खरले ढाकेको तर खरभित्र के रहेको भनेर हेर्न नपाएको र काठमाडौं जाने बताएको चेकिङमा खटिएका एक प्रहरीले जानकारी दिए ।
शनिबारको दिन सरकारी सवारी तथा कर्मचारी जिल्ला बाहिर जाँदा जिल्ला प्रशासन कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने हुन्छ ।
तर, उक्त सवारीले जिल्ला बाहिर जान अनुमति नलिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
स्रोतका अनुसार सुवेदीले शुक्रबार राति काठमाडौं पठाएको २० क्यूफिट काठ मायादेवी साझेदारी वनमा पक्राउ परेका अवैध काठ हुन् ।
जसको अभिलेख नराखी पकडीस्थित पट्टु मुसलमानको स–मिलमा चिरान गरिएको थियो भने खर जंगलमै सशस्त्र वन रक्षकबाट काट्न लगाइएको थियो ।
वन संरक्षण र गस्तीमा परिचालन गर्नुपर्ने वन रक्षकहरुलाई डीएफओले खर काट्नमात्र होइन विभिन्न निजी काममा खटाउने गरेका छन् ।
उनले गोलघर बनाउनसमेत २ जना सशस्त्र वन रक्षकलाई काजमा काठमाडौं पठाउने तयारीसमेत गरेको कर्मचारी स्रोतको भनाइ छ ।
सुवेदी जिल्लामा आएदेखि नै सरकारी गाडी दुरुपयोग गर्दै आएका छन् ।
तिलौराकोट साझेदारी वनका संयोजक जयप्रकाश पाण्डेले आफ्नो वनको गाडी काठमाडौं जानपर्ने काम परेको समयमा डीएफओको पनि घर प्रयोजनका लागि खर पठाउनुपर्ने भएकाले सँगै पठाइएको स्वीकार गरे ।
ण्
