बुटवल । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले नेकपाको मूलनीति, नेतृत्व, मालेमावादको वैचारिक निष्ठा र एकीकृत जनक्रान्तिप्रति प्रतिबद्ध भएको बताएको छ । आइतबार महासंघका महासचिव श्याम सेन्चुरी र सचिव डिल्ली वलीले संयुक्त वक्तव्य जारी गर्दै संगठनले विश्व साम्राज्यवाद, अर्थवाद, विसर्जनवादका विरुद्ध टे«ड युनियन अधिकार र क्रान्तिकारी मजदुर आन्दोलनको पक्षमा निरन्तर संघर्ष गर्दै बताएको छ ।
वक्तव्यमा संगठनका अध्यक्षले हस्ताक्षर दुरुपयोग गरेर संगठनको नीति र पद्धति विपरित वक्तव्यबाजी गरेकोप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै वक्तव्यमा भनिएको छ,“क्रान्तिकारी मजदुर आन्दोलनलाई बदनाम गर्ने, संगठनलाई कमजोर पार्न गुटबन्दी गर्ने र लाखौं श्रमिक तथा मजदुर वर्गलाई भ्रम छर्ने गलत मनसायले हस्ताक्षर दुरुपयोग गरेर गरिएको अनाधिकृत वक्तव्यबाजी प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।”
त्यसैगरी वक्तव्यमा एकीकृत जनक्रान्ति र महान सहिदहरुको बलिदानबाट स्थापित भएको क्रान्तिकारी पार्टी र संगठनमाथि गरिएको चौतर्फी घेराबन्दी, षड्यन्त्र र आक्रमण विरुद्ध सचेत रहन र हस्ताक्षर दुरुपयोग गरेर गरिएको अनर्गल प्रचारबाजीको भ्रमबाट मुक्त हुन सम्पूर्ण श्रमिक तथा मजदुर वर्गमा हार्दिक अपिल गरिएको छ ।
वक्तव्यमा संगठनको तर्फबाट विश्वका श्रमिक तथा मजदुर वर्गले गरेको बलिदानप्रति उच्च सम्मान गर्दै १३३ औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गरिएको छ । वक्तव्यमा विश्वव्यापी रुपमा चलिरहेको श्रमिक वर्गको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दै साम्राज्यवादको भूमण्डलीकरणले सिर्जना गरेको विश्वव्यापी संकटलाई वैज्ञानिक समाजवादद्धारा हल गर्ने आन्दोलनप्रति प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

