अर्घाखाँची ।अर्घाखाँचीको भुमिकास्थानमा भारी वर्षासंगै आएको बाढीले बगाउँदा एक बालिकाको ज्यान गएको छ ।
भूमिकास्थान नगरपालिका–१, ढाकाबाङको बेसारेखोलामा आएको बाढीले बगाउँदा ८ वर्षीया शिवानी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्युठानको मल्लरानी गाउँपालिका–२ स्थाई घर भएकी शिवानीलाई दिदीको घर ढाकाबाङ आउने क्रममा शुक्रबार साँझ बाढीले बगाएको थियो ।
दिदी दुर्गा घर्तीसंगै आएकी बहिनीलार्ई बाढीले बगाएपछि उनले तत्कालै प्रहरीलाई खबर गरेकी थिइन् ।
गएराति अबेरसम्म प्रहरीले फेला पार्न नसकेपछि शनिबार बिहान पुनः स्थानीयवासी र प्रहरीको टोलीले खोजी गर्दा हिलोमा गडेको अवस्थामा शव फेला परेको थियो ।
शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल प्यूठान पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिए ।
