बुटवल । वडा प्रहरी कार्यालय बुटवल रामनगरको हिरासतमा रहेका अभियुक्त घाँटी रेटिएको अवस्थामा फेला परेका छन्। तामाको तार चोरी गरेको अभियोगमा पक्राउ परेका बुटवल देविनगरका रुद्रबहादुर नेपाली सोमबार दिउसो हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक ठग बहादुर केसीले हिरासतमा रहेका नेपालीलाई घाँटी रेटेर आत्महत्या गर्न खोजेको अवस्थामा फेला पारिएको जानकारी दिए। घटना विवरण अनुसार बुटवल औद्योगिक क्षेत्र तथा विभिन्न स्थानबाट तामाको तार चोरि भएको गुनासो बढ्दै गएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा नेपालीलाई ३ किलो तामाको तार कवाड पसलमा विक्री गर्दै गरेको अवस्थामा सनिवार साँझ पक्राउ गरेको थियो।
सोहि घटनाको अनुसन्धानका लागि वडा प्रहरी कार्यालयको हिरासतमा राखिएका नेपालीलाई सोमबार घाँटीमा गहिरो चोट लागेर हिरासतभित्रै पल्टिएको अवस्थामा फेला पारिएको प्रहरी नायब उपरिक्षक केसीले जानकारी दिए। वडा प्रहरी कार्यालयको हिरासतमै एक्लै रहेको अवस्थामा आत्महत्या गर्ने उद्देश्यले शौचालयको साईफन फुटालेर घाँटी रेटेको हुनसक्ने केसीले बताए। केसीका अनुसार हिरासतमा रहेको शौचालयको साईफन फुटेको र त्यसको टुक्रा समेत फेला परेको छैन। चिउडो मुनि घाँटीमा गहिरो चोट लागेका नेपालीको लुम्बिनी प्रादेशिक अस्पतालको आईसियूमा भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
घाइते नेपालीकी दिदी मनकुमारी नेपालीले अनुसन्धानको लागि भन्दै प्रहरीले पक्राउ गरेर राखेको व्यक्ति हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा फेला पर्नु गम्भिर विषय भएको बताईन्। उनले प्रहरीले कुनैपनि घटनामा संलग्नहरुलाई कारवाही गर्नु स्वभाविक भएपनि हिरासतभित्र रहँदा उनिहरुको जिऊज्यानको सुरक्षा गर्नु पनि प्रहरीको दायित्व भएकोले घटनाको सत्यतथ्य छानविन हुनुपर्ने बताईन्। घाईते नेपालीले लुम्बिनी प्रादेशिक अस्पतालमा सफाईकर्मीको रुपमा काम गर्दै आएका थिए।
