बुटवल । नेकपा रूपन्देहीले चैत २४ अर्थात् ३३ औं जनआन्दोलन दिवस मनाउन लागिरहेको छ । बुटवलको मुर्गियामा विशाल प्रदर्शन सहित जनआन्दोलन दिवस मनाउन लागिएको नेकपा जिल्ला सेक्रेटरी विश्वासले जनबाटोलाई बताउनुभएको छ ।
चैत २४ अर्थात् शुक्रबार ऐतिहासिक जनआन्दोलन सफल भएको दिनलाई स्मरण गर्न नेकपाले भव्य तयारी गरेको हो । मुर्गियाको चोकमा हुने सभालाई नेकपाका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने जिल्ला कार्यालयले बताएको छ । कार्यक्रममा युवा संगठन नेपालको विशाल प्रदर्शनसहित जिल्लाका विभिन्न क्षेत्रहरुबाट जनसमुदायको उपस्थिति हुनेछ । कार्यक्रममा संग्रामी सांस्कृतिक परिवारको प्रस्तुति समेत रहनेछ ।
नेकपाले ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरणमा चैत २४ गते जनआन्दोलन दिवस मनाउदै आएको छ । ०१७ सालमा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक दलहरुले आन्दोलन गरेका थिए । यो आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा वीरेन्द्रले प्रजातन्त्र पुनर्बहाली गरेका थिए । ०४६ साल चैत २४ को आन्दोलनले राजनीतिक स्वतन्त्रतासँगै वाक तथा अभिव्यक्ति स्वतन्त्रता पनि दिएको थियो ।
त्यसैले चैत २४ गतेलाई राजनीतिक परिवर्तनका लागि एक महत्वपूर्ण तथा ऐतिहासिक दिन मानिन्छ । संयोगले २०६२ सालमा पनि दोस्रो जनआन्दोलनको सुरुवात चैत २४ मा नै भएको थियो । दोस्रो जनआन्दोलनले राजसंस्था अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गरेको थियो ।
