पारस राहादी मगर,बुटवल । अखिल (क्रान्तिकारी) रुपन्देहीले मोरङको लेटाङ नगरपालिका वडा नं ५ स्थित शिक्षा विकास माविमा र चितवन माडिको सोमेश्वर माविमा अध्ययनरत छात्रामाथि सोही बिद्यालयमा पढाउने शिक्षकले गरेको यौन दुर्वव्यहारविरुद्ध विरोध कोणसभा गरेको छ ।
विरोधको सभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष रूपा बुढा मगरले मोरङको लेटाङको शिक्षा विकास मावि र चितवन माडीको शोमेश्वर माविको घटनाको कडा विरोध जनाइन् ।
शिक्षक भेषी यौनपिपासु अपराधीहरूलाई तत्काल कडा कार्वाही गर्नुपर्ने बताउँदै बिद्यालय होस् या घर समाज, जुनसुकै ठाउँ वा परिस्थितिमा पनि बालिकाहरूको सुरक्षाको ग्यारेन्टी गर्न माग गरिन् । चितवनमा पीडक शिक्षकको पक्षमा नेपाल शिक्षक संघले निकालेको विज्ञप्तिको भर्त्सना समेत गरिन् ।
साथै अखिल क्रान्त्किारीका केन्द्रीय कोषाध्यक्ष बुढामगरले पुरुषसत्ताले निर्माण गरेको बलात्कारी मानसिकता र विभिन्न बहानामा यौन शोषकलाई संरक्षण गर्ने प्रवृत्तिले बलात्कारको घट्नालाई बढवा दिइरहेको बताउँदै त्यसको अन्त्य अपरिहार्य रहेको बताइन् ।
आफ्नो संगठनले छात्रारमहिलाहरूमाथि हुने यौन हिंसा विरुद्धको सचेतना अभियान देशव्यापी रुपमा सशक्त ढङ्गले चलाइरहेको भन्दै अभियानमा लामबद्ध हुन सम्पुर्ण बिद्यार्थीहरूलाई आह्वान गरिन् ।
छात्राहरू माथि हुने यौनहिंसा विरुद्ध अखिल (क्रान्तिकारी) रुपन्देहीले हिजो बुटवलको बुद्धनगरमा र आज देविनगर चौपारीमा विरोध कोणसभा गरेको हो । कोणसभा सञ्चालन संगठनका जिल्ला अध्यक्ष इन्दु वलीले गरेकी थिइन् ।
