पोखरा । अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा बिभागद्वारा पोखरामा यौनजन्य हिंसा बिरुद्ध र्याली सहित प्रदर्शन गरेको छ।
संगठनले मोरङको लेटाङ नगरपालिका वडा नं ५ स्थित शिक्षा विकास माविमा कक्षा ७ मा अध्ययनरत एक छात्रामाथि आइतबार बिद्यालय परिसरमा सोही बिद्यालयमा पढाउने शिक्षक मनोज पौडेलले गरेको यौन दुर्वव्यहार लगायत देशैभरी भइरहेको यौनजन्य हिंसा विरुद्ध र्याली सहित बिरोध प्रदर्सन गरेको हो ।
पोखराको कन्या क्याम्पस अगाडिबाट सुरु भएको छात्राहरुको बिरोध र्याली पृथ्वीनारायण क्याम्पस अगाडि पुगेर बिरोध सभामा परिणत भएको थियो ।
विरोधको सभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा बिभाग प्रमुख कमला परियारले विद्यालयमा नै छात्राहरू अशुरक्षित हुने परिस्थिति आउनु लज्जास्पद र निन्दनीय भएको बताउनु भयो ।
यौनपिपासु, बलात्कारी जस्तो क्रुर अपराधी शिक्षकको भेषमा हुनुले हाम्रो समाजको वास्तविक मुखुण्डो उत्रेको बताउँदै पितृसत्ताको अहङ्कार र यौनपिपासु मानसिकताको भण्डाफोर गर्नुको विकल्प नभएको बताउनु भयो । उहाँले सरकारले यस्ता घटना को तुरुन्त कारबाही नगरे छात्राहरुको आन्दोलनको तागतले त्यस्ता शिक्षकहरुलाइ कारबाही गर्ने चेतावनी दिनुभयो ।
साथै परियारले केही दिनअघि मात्र अठार महिने बालिकाको बलात्कार पछि हत्या भएकोमा कडा विरोध जनाइन् । यौनदुर्व्यहार गर्ने शिक्षा विकास माविका शिक्षक मनोज पौडेलमाथि कडा भन्दा कडा कारबाही गर्न माग गर्दै विद्यालयमा सहज रुपमा पठन पाठनको व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्दै यस प्रकारको शिक्षकको हर्कत रोक्नुका साथै देशैभरी छात्राहरुमाथि भइरहेको यौन जन्य हिंसा रोक्न , छात्राहरूको सुरक्षाको ग्यारेन्टी गर्न माग गरिन् ।
कोणसभाको संचालन अखिल (क्रान्तिकारी) अमरसिंह माबि मुल इकाई कमिटीका सह इन्चार्ज अङ्किता वाग्लेले गर्नुभएको थियो ।
मोरङको सो घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलनरत बिद्यार्थी तथा स्थानीयबासि र प्रहरीबिच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान गएको छ। झडपमा केही स्थानीय, बिद्यार्थी र प्रहरी समेत घाइते भएका छन् ।
