बुटवल । नेपाल कम्युनिस्ट पार्टी नेता पेम्वा साङ्गे शेर्पा (सुनिल) १६ महिनापछि आइतबार जेल मुक्त भएका छन् । विशेष सुराकीका आधारमा २०७७ साल मंसीर ७ गते झापाबाट पक्राउ परेका उनलाई मोरङ जिल्ला अदालतले १ बर्ष ४ महिनाको कारागार र १५ हजार जरिवाना तोकेको थियो ।
जिल्ला आदालत मोरङले गएको पुस ९ गते फैसला गरे अनुसार, आइतबार १५ हजार ६ सय रुपैयाँ जरिवाना तिरेर उनी रिहा भएको नेकपा मोरङ सेक्रेटरी नरेशले बताए । रिहा भएका उनलाई जनपत्रकार संगठन नेपालले खुल्ला आकाशमा स्वागत गरेको थियो । १ नम्बर प्रदेशमा जारि आधारभूत पत्रकारिता तालिममा जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्माले खदा र अबीर लगाएर स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा मोरङ जिल्ला सेक्रेटरी नरेश, जनपत्रकार संगठनका केन्द्रीय सदस्य शोभराज बराल, केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश संयोजक आलोक लिम्बु, सुदर्शन पाण्डे, सुमन श्रेष्ठ सर्गमसहित तालिममा उपस्थित प्रशिक्षार्थीले अभिनन्दन गरे । सुनिललाई प्रहरीले हातहतियार तथा खरखजना मुद्धा लगाएको थियो ।
