भैरहवा, २९ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले स्थायी सरकारको नारा लिएर निर्वाचनमा जितेको कम्युनिष्ट पार्टीले जनतालाई धोका दिएको आरोप लगाएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले आइतबार भैरहवामा सुरु गरेको ‘घर-घर जाऔं, काँग्रेस जिताऔं’ अभियानको भैरहवामा उद्घाटन गर्दै राणाले पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्दिन भन्दा पनि देशको परिस्थितिले सरकारको नेतृत्व गर्नुपरेको बताए ।
उनले पाँच वर्षका लागि जनताले सरकारको नेतृत्व गर्ने अवसर कम्युनिष्ट पार्टीलाई दिए पनि त्यो हुन नसकेको बताए । ‘काँग्रेसले जे बोल्छ त्यही नै गर्छ, यसपटक काँग्रेसलाई जिताउनुपर्छ, यो भनेको नेतालाई होइन, तपाई हामी आफै जित्नुपर्छ, ’उनले भने । उनले आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै प्रत्येक पालिकाले छुट्टै घोषणापत्र समेत बनाउन आवश्यक रहेको बताए । उनले विगतमा रुपन्देहीमा स्थानीय तह निर्वाचनमा व्यवस्थापन नभएकै कारणले दुईवटा पालिकामात्र काँग्रेसले जितेकोले यसपटक राम्रो व्यवस्थापन मिलाउन सके बहुमत पालिका जित्ने बताए ।
एमसीसी प्रस्ताव नेपालको पूर्वाधार विकासका लागि माग गरिएको नेता राणाले बताए । एमसीसीको विषयमा काँग्रेसका नेताहरुको एउटै धारणा रहेको उनको भनाइ थियो । नेकपा एमाले अध्यक्ष हुँदा एमसीसी प्रस्ताव अगाडी बढे पनि देउवा नेतृत्वको सरकारमा आइसकेपछि टेबुल हुँदै छलफल पश्चात बहुमतबाट पारित भएको उनले बताए । ‘ओली सरकारमा हुँदा जसरी पनि पास गर्नुपर्छ भन्ने कुरा आउँथ्यो, तर त्यही पार्टी विपक्षमा रहँदा बोल्न सकेन, ’उनले भने । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले काँग्रेस हार्दा देश र जनताले दुःख पाउने भन्दै सबै एक भएर काँग्रेसलाई जिताउनुपर्ने बताए ।
एमालेका नेताहरुले एमसीसीबारे फरकफरक धारणा राखेको उनले बताए । काँग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले सक्रियताका साथ निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरे । लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्याल, काँग्रेस लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारी, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य गंगा शाही, रुपन्देही क्षेत्र नम्बर ५ का सभापति वसिउल्ला मुसलमान, ३ का सभापति सुशील गुरुङ, २ का सभापति हरि लम्साल, क्षेत्र नम्बर ३(१)का सभापति सुरेन्द्र जंग राणा, बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे, गैडहवा गाउँपालिका सभापति सत्यनारायण पथिक, तिलोत्तमा-८ का सभापति केशव अर्यालले बोल्दै मुलुकलाई काँग्रेसमय बनाउन एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको सभापतित्व, जिल्ला उपसभापति अनिता ढुंगाना शाहको स्वागत तथा सचिव हरि काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
‘घर-घर जाऔं, काँग्रेस जिताऔं’ अभियान आगामी चैत २९ गतेसम्म चल्ने काँग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले बताए ।
