बुटवल । रुपन्देहीमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ । बुटवलमा संयुक्त महिला संघर्ष समितिद्धारा आयोजित सभामा महिला नेतृहरुले सम्बोधन गर्दै महिला उत्पीडनका विरुद्ध संघर्ष जारी राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
सभालाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष धिरेन्द्राकुमारी उपाध्यायले नेपालमा महिला उत्पीडनको मुख्य कारक दलाल पुँजीवादी संसदीय व्यवस्था भएको भन्दै यो व्यवस्थाले महिलाहरुलाई विज्ञापनका साधन बनाएको बताउनुभएको छ । उहाँले जनयुद्धमा २५ सय महिलाहरुको बलिदान संसदीय व्यवस्थाका लागी नभएको भन्दै यसको अन्त्य नगर्दासम्म महिला मुक्ति सम्भव नभएको बताउनुभयो । उहाँले महिलाहरुको पितृसत्तात्मक व्यवस्था र दलाल पुँजीवादी व्यवस्थाबाट उत्पीडनमा परेको भन्दै यसका विरुद्ध संघर्षको विकल्प नभएको बताउनुभयो । उहाँले महिलामाथिको शोषण, हिंसाको अन्त्य र समान अधिकारका लागी वैज्ञानिक समाजवाद एक मात्र विकल्प भएको भन्दै संसदीय व्यवस्था रहँदासम्म महिलामाथि शोषण, अन्याय, बलात्कार र हिंसा नरोकिने बताउनुभयो । उहाँले देशमाथि साम्राज्यवादीहरुको अतिक्रमण र थिचोमिचो भएको भन्दै फेरि नालापानी युद्ध जरुरी रहेको बताउनुभयो । उहाँले संसदले एमसीसी सम्झौता पास गरेर गम्भीर राष्ट्रघात गरेको भन्दै नेपालको भविष्य युक्रेनी जनताको नियति हुने भन्दै यसका विरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले दलाल पुँजीवादी राज्यसत्ता विरुद्धको संघर्षमा महिलाहरु अग्रभागमा हुनुपर्ने बताउनुभयो ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का प्रदेश सदस्य निमकलाले महिलामाथि हुने हिंसा र शोषणका विरुद्ध संघर्ष जरुरी भएको भन्दै देशभक्त र क्रान्तिकारी महिलाहरु एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले राज्यसत्ताका कारण महिलाहरु विभेद र उत्पीडनमा पर्नुपरेको भन्दै महिलाहरु सचेत रुपमा संगठित नहुँदासम्म महिला मुक्ति सम्भव नहुने बताउनुभयो ।
अनेमसंघका जिल्ला सचिव दुर्गा आचार्यले महिला उत्पीडनको सुरुवात घरभित्रैबाट हुने भन्दै यसको मूलकारण राज्यसत्ता भएको बताउनुभयो । उहाँले महिलाहरुको मुक्तिका लागी सम्पूणर् महिलाहरु संगठित भएर सम्भव हुने भन्दै यसका लागी संयुक्त संघर्ष आवश्यक भएको बताउनुभयो ।
वैज्ञानिक समाजवादी महिला संगठनकी प्रदेश संयोजक शकुन्तला गैरेले महिलाहरुमाथिको उत्पीडन करिब ८ हजार बर्षदेखि हुँदै आएको भन्दै यसका विरुद्ध महिलाहरु संगठित भएर संघर्षमा जुट्नुपर्ने बताउनुभयो । अनेमसंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष शान्ता पौडेलको अध्यक्षता, अनेमसंघ (क्रान्तिकारी) जिल्ला उपाध्यक्ष शान्ता खनाल मरासिनीको स्वागत र अनेमसंघ क्रान्तिकारी जिल्ला अध्यक्ष उषा पाठकको सञ्चालनमा कार्यँक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा संग्रामी सांस्कृतिक परिवार र रक्तिम परिवारले नाँच प्रस्तुत गरेका थिए । बुटवल नयाँ बसपार्कबाट सुरु भएको जुलुस बजार परिक्रमा गर्दै अमरपथको टक्सारचोकमा पुगेर विरोध सभा सम्पन्न भएको थियो ।
