पाल्पा । नेकपा पाल्पाद्धारा तानसेनमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ । पाल्पाको तानसेनमा गरिएको सम्मेलनमा १५ जना सहिद परिवारलाई सम्मान गरेको थियो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवं पाल्पा गुल्मी इन्चार्ज अपेक्षाले झापा विद्रोहदेखि जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिसम्मका सहिद तथा बेपत्ता योद्धाहरुको सपनाहरु पुरा नभएको भन्दै ती सपनाहरु वैज्ञानिक समाजवादमा मात्रै पुरा हुने बताउनुभयो । उहाँले एकीकृत जनक्रान्ति सम्पन्न गर्न सहिद तथा बेपत्ता योद्धा परिवारको महत्वपूर्ण भूमिका हुने भन्दै सबै एक भएर संसदीय पुँजीवादी व्यवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो ।
सहिद परिवारको तर्फबाट बोल्दै आकाशले आफन्तहरुले संसदीय व्यवस्थाका लागी बलिदान नगरेको भन्दै सहिदहरुको सपनामाथि गद्दारी गरिएको बताउनुभयो । उहाँले सहिदहरुका रगत खेर गएको भन्दै जनयुद्धमा बलिदान गर्ने सहिदहरुका सपनालाई धोका दिने गद्दारहरु विरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो ।
सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रमको अवसरमा सहिद परिवार समाज पाल्पाको समेत गठन गरिएको छ । सहिद परिवारको आकाशको अध्यक्षतामा ७ सदस्यीय पाल्पा जिल्ला कमिटी गठन गरिएको छ ।
सम्मान कार्यक्रमको अध्यक्ष सहिद परिवार आकाशको अध्यक्षता, जिल्ला जनसरकार प्रमुख मीन आलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । पाल्पामा हरेक बर्ष नेकपाले सहिद तथा बेपत्ता परिवारजनलाई सम्मान गर्दै आएको छ ।
