बुटवल । नेकपा महासचिव विप्लव र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच समसामयिक भेटवार्ता भएको छ । नेकपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव असलका अनुसार समसामयिक बिषयमा उहाँबीच भेटवार्ता भएको हो । उहाँहरुबीच श्रेष्ठ निवास हात्तीवनमा भेट भएको हो ।
नेकपासहित ८ दलले एमसीसीविरुद्ध निरन्तर संघर्ष गरिरहेको छ भने एमसीसी पास भएसँगै माओवादी केन्द्रमा अन्तरसंघर्ष तीव्र चर्किरहेको छ । सुरुबाटै एमसीसीको बिरोध गर्दै आएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको निर्णय बिपरित एमसीसी पास गर्न भूमिका खेलेको भन्दै नारायणकाजी श्रेष्ठ सहित शीर्ष नेताहरु असन्तुष्ट रहेका छन् ।
दुई नेताबीचको छलफल यही बिषयमा केन्द्रीत भएको बुझिएको छ । केहीदिन अगाडी प्रचण्डले एमसीसीबारे सार्वजनिक बोलेको भन्दै पार्टी छोडेर जान सुझाएका थिए । श्रेष्ठले एमसीसी पास गर्ने पार्टीको निर्णय नभएको भन्दै यसकमा आफ्नो गम्भीर असहमति रहेको बताएका थिए ।
श्रेष्ठ लगायत नेताहरुले प्रचण्डले गम्भीर राष्ट्रघात गरेको भन्दै पार्टी फुट्न समेत सक्ने बताएका छन् । एमसीसी विरुद्धको संघर्षमा श्रेष्ठसहित असन्तुष्ट नेताहरु जोडिने सम्भावना रहेको बुझिएको छ ।
