२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3832

राष्ट्रघाती एमसीसीविरुद्ध नेपाल बन्दको प्रभाव देशैभर

राष्ट्रघाती एमसीसीविरुद्ध नेपाल बन्दको प्रभाव देशैभर

सोमवार, फाल्गुण १६ २०७८
सोमवार, फाल्गुण १६ २०७८
  • बुटवल । राष्ट्रघाती एमसीसीविरुद्ध नेकपासहित ६ दल र २ मोर्चाले आह्वान गरेको आजको नेपाल बन्दको असर देशभर परेका समाचारहरू प्राप्त भएका छन् । देशका विभिन्न जिल्लाबाट प्राप्त समाचारअनुसार बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने विद्यालय र बजार पनि खुलेका छैनन् । बन्दको आह्वान गर्दै ६ राजनीतिक पार्टी, २ मोर्चाका नेता–कार्यकर्ता र देशभक्त जनसमुदाय बिहानैदेखि सडकमा उत्रिएका छन् ।

    बन्दकर्ताहरूले एम्बुलेन्स, पानी र दूध बोक्ने गाडी, प्रेस, कूटनीतिक नियोगका गाडी चल्न दिएका छन् भने अरू प्रायः सबै बन्द छन् । बन्दमा जनसमुदायको व्यापक समर्थन देखिएको छ ।

    राष्ट्रघाती एमसीसीविरुद्ध सडक सङ्घर्षमा होमिएका नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले आइतबार साँझ विज्ञप्ति जारी गरी १६ गते सशक्त नेपाल बन्दको घोषणा गरेका थिए । नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ६ दल र दुई मोर्चाको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत, विरोध र देशव्यापी जनसङ्घर्ष गर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको र यसका विरुद्ध राष्ट्रिय रूपमा प्रतिवाद सङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले भोलि १६ गतेका लागि सशक्त नेपाल बन्द घोषणा गरिएको उल्लेख छ ।

    संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाको आकस्मिक बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौँमा बस्यो । नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत, विरोध र देशव्यापी जनसङ्घर्ष गर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको छ । यसका विरुद्ध राष्ट्रिय रूपमा प्रतिवाद सङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले विषयको यही संवेदनशीलतालाई दृष्टिगत गरी हामी ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले तत्कालिक जनसङ्घर्षको कार्यक्रम घोषणा गरेका छौँ । यसलाई पूरै तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरूलगायत आम जनसमुदायमा विनम्र अनुरोध गर्दछौं । साथै आज एमसीसीविरुद्धको आन्दोलनमा घाइते सम्पूर्ण देशभक्त योद्धाहरूको स्वास्थ्यलाभको कामना गर्दछौँ ।’

    नेपाल बन्दको घोषणासहित संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij