कपिलवस्तु । कपिलवस्तुमा नेकपाद्धारा जनक्रान्तिका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ । सहिद सप्ताहको सन्दर्भमा जनयुद्धकालमा सहादत प्राप्त गर्ने ७३ जना सहिद एवं राज्यद्धारा बेपत्ता बनाइएका ७ जना योद्धाका परिवारजन र घाइते योद्धालाई नेकपाले कदरपत्रसहित सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुलिङ बिभागका भेसराज भुसालले वर्तमान राज्यव्यवस्थाले सहिदको सपना पुरा नहुने भन्दै वैज्ञानिक समाजवादी व्यवस्थाद्धारा मात्र सहिद तथा बेपत्ताका सपना पुरा हुने बताउनुभयो । उहाँले जनयुद्धका सपनाहरु एकीकृत जनक्रान्तिमार्फत् पुरा गरिने भन्दै प्रचण्ड बाबुरामले सहिदका सपनाहरुमाथि गम्भीर गद्दारी गरेको बताउनुभयो ।
नेकपा केन्द्रीय सदस्य एवं कपिलवस्तु तथा अर्घाखाँची इन्चार्ज जुझारुले महान सहिदका सपनाहरु पुरा गर्ने बाटो एकीकृत जनक्रान्ति भएको भन्दै त्यसका लागी सहिद एवं बेपत्ता परिवारजनको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
जिल्ला सेक्रेटरी कमलको अध्यक्षता, जिल्ला सदस्य शेरमानको सञ्चालनमा भएको कार्यक्रममा लामो समय जेलबाट रिहाइ हुनुभएका नेकपा रुपन्देहीका तत्कालीन इन्चार्ज संगम र नेकपा कपिलवस्तुका जिल्ला सदस्य गणेश थारुलाई समेत स्वागत एवं सम्मान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय थारु मुिक्त मोर्चाका केन्द्रीय संयोजक सुनिल थारू, बिशेष कमिटी सदस्य हेमन्त, सहिद परिवारका जिल्ला अध्यक्ष बिरबहादुर बिकलगायतको उपस्थिति रहेको थियो ।
कपिलवस्तुमा नेकपाले हरेक बर्ष सहिद तथा बेपत्ता योद्धाका परिवारहरुलाई सम्मान गर्दै आएको छ । राज्यले नेकपामाथि प्रतिबन्ध लगाएको बेला समेत सहिद तथा बेपत्ता परिवारलाई भेटेर सम्मान गरिएको थियो ।

