मकवानपुर। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको नेतृत्वमा रहेको एमसिसी सम्झाैता विरुद्धको संयुक्त संघर्ष समितिले आज जिल्ला प्रशासन कार्यालय घेराऊ गरिएको छ। हेटौंडाको बुद्ध चोक देखि सुरु भएको विरोध प्रदर्शन सहितको र्याली जिल्ला प्रशासन कार्यालय पुगेर कार्यालय घेराऊ गरिएको हो।
र्याली सहितको जिल्ला प्रशासन कार्यालय घेराऊ कार्यक्रममा विभिन्न पार्टी तथा मोर्चाका नेता कार्यकर्ताका साथै स्वाभिमानी मकवानपुरे जनता र अध्ययनरत शिक्षित विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो।
बिहीबार दिउँसो भएको जिल्ला प्रशासन कार्यालय घेराऊ कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका सेक्रेटरी वाटरले राष्ट्रघाती एम सिसी सम्झौताको विरुद्ध सडकमा कराइरहेका स्वाभिमानी, देशभक्त र राष्ट्रप्रेमी बहु संख्याक जनताको अपमान गर्दै एमसिसी सम्झाैता संसदमा टेबल गरी गल्ती त गर्यो गर्यो अब फेरि अटेर गर्दै एमसिसी पारित गर्ने दुष्प्रयास नगर्न खबरदारी गरेका छन्।
उनले भनेका छन् यदि सरकारले नेपाली जनता र देशको हित विपरित देशद्रोही कदम चालिन्छ भने उक्त कदमको विरुद्ध ढुंगा, माटो, ईट्टा, झण्डा बोक्ने लठ्ठीलाई समेत हतियार बनाएर नेपाली जनता सडक देखि सदनसम्म आइपुग्नेछन्।
त्यसपश्चात देशद्रोही, दलालहरु देश छोडी भाग्नुको विकल्प नरहेकोले त्यो दिन आउन नदिन आजै सजग र सचेत भई देश र जनताको हितमा कदम चाल्न आग्रह पनि गरेका छन्। साथै कार्यक्रममा विभिन्न पार्टी र मोर्चाका नेतृत्वले राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध आफ्ना विचार स्पष्ट रुपमा राखेका थिए।
यसरी मकवानपुरका स्वाभिमानी जनताको उपस्थितिमा भएको राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध आयोजित विरोध प्रदर्शन सहितको जिल्ला प्रशासन कार्यालय घेराऊ कार्यक्रम शान्तिपूर्ण ढंगले सफल भएको छ।
