सल्यान। एमसीसीका विरुद्ध सल्यानको श्रीनगरमा रांके जुलुस गरिएको छ । विभिन्न ३ पार्टीका विद्यार्थी संगठनले एमसीसी बिरुद्ध बुधबार बेलुका श्रीनगर बजारमा रांके जुलुस निकालेका हुन् ।
सयौं संख्यामा उपस्थितहरुले श्रीनगरको माथिल्लो चोकबाट तल्लो बसपार्कसम्म रांके जुलुस समाएर एमसीसी बिरुद्ध नाराबाजी गरेका थिए ।
नेकपा निकट अखिल (क्रान्तिकारी) ,माओवादी निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियु सल्यानले संयुक्त रुपमा बिरोध कार्यक्रमको आयोजना गरेका हुन् ।
जुलुसपछि कोणसभालाई विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य टंक प्रकाश केसी, माओवादी निकट अखिल क्रान्तिकारीका प्रदेश कमिटीका चेतन गिरी, समाजवादी निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष निरज सिंहले सम्बोधन गरेका थिए । उनिहरुले कुनैपनि हालतमा एमसीसी पास गर्न नहुने बताए ।
यी ३ विद्यार्थी संगठनले भोलि जिल्ला प्रशासन घेराउ कार्यक्रम गर्ने जनाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा भाेली एमसीसीमाथी छलफल गरिने भएकाे छ । प्रतिनिधि सभाको बैठक भोलि १ बजे बस्दैछ । सरकारले गत ८ गतेको बैठकमा एमसिसी टेबल गरेकाे थियाे ।
