भैरहवा । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै त्यसका विरुद्ध ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले भैरहवास्थित जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ ।
सरकारले एमसीसी संसदमा टेबल गर्न लागेपछि यसको खारेजीको माग गर्दै केन्द्रीय कार्यक्रम अन्तर्गत आज भैरहवामा जिल्ला प्रशासन कार्यालय घेराउ र कोणसभा सम्पन्न गरिएको हो ।
घेराउ कार्यक्रमसँगै आयोजित कोणसभालाई संयुक्त संघर्षमा सम्बद्ध नेताहरुले एमसीसी संसदमा छिर्नै दिन नहुने भन्दै यसको तत्काल खारेजीको माग गरेका छन् । कोणसभालाई सम्बोधन गर्दै नेकपा रुपन्देहीका नेता नवीन थारूले एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताउनुभएको छ । उहाँले एमसीसी बिषको पोका भएको भन्दै यो संसदले पास गरेर कार्यान्वयन गरिए परिस्थिति गम्भीर हुने चेतावनी दिनुभयो ।
रास्ट्रीय जनमोर्चाका जिल्ला सदस्य एबं सिढार्थ नगर अध्यक्ष नेत्र आचार्य, नेकपा क्रान्तिकारी माओवादी सिढार्थ नगर सेक्रेटरी टिपु सुल्तान, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका लुम्बिनी प्रदेश संयोजक लछुराम बिश्वकर्माले एमसीसी परियोजना संसदले एमसीसी पास गरे कार्यान्वयन हुन नसक्ने बताउनुभयो ।
कार्यक्रमको संचालन रास्ट्रीय जनमोर्चाका हिरालाल धामीले गर्नुभएको थियो ।
रुपन्देहीमा मोर्चा अन्तर्गत नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (माले), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, राष्ट्रिय जनमोर्चा र देजमोको सहभागिता रहेको छ ।
रूपन्देहीमा ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै तत्काल खारेजीका लागी लगातार सङ्घर्ष गर्दै आएको छ ।
