बुटवल । नेपाल कम्युनिस्ट पार्टीले २७ औँ जनयुद्ध दिवस देशभर विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाएको छ । नेकपाले देशभर विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको हो । काठमाडौँ, भक्तपुर र ललितरपुर जिल्ला पार्टीले पनि संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका छन् । काठमाडौँमा तीन जिल्लाकै जिल्ला पार्टीले भव्य समारोहबीच जनयुद्ध दिवस मनाएको हो ।
कार्यक्रममा विभिन्न पार्टीका केन्द्रीय सदस्यहरु, जनवर्गिय संगठनका अध्यक्ष तथा पदाधिकारी, पार्टीका जिल्ला कमिटीका सदस्य तथा जनसमुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा अभियानबाट फर्किएका युवा संगठनका नेताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा एक आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्न एकले अर्कालाई अविर लगाएर शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि रहेका बेपत्ता परिवार तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले पार्टीको विचार जनतासम्म लिनका लागि केही मौलिकता आवश्यक भएको बताए ।
जनयुद्धमा भएका विभिन्न घटनाहरुलाई अनुभूतिका रुपमा राख्दै उनले विश्वविद्यालयमा नपाइने ज्ञान जनतासँगको सामिप्यतामा पाइने बताए । जनतासँग घुलमिल हुने नेताको चरित्र भएकाले त्यसलाई विर्सन नहुने उनको सुझाव थियो ।
देशमा फेरि पनि क्रान्तिको आवश्यक भएको भन्दै क्रान्तिका लागि वातावरण बन्दै गएको बताए । उपस्थित सबैलाई जनयुद्ध दिवसको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा बोल्दै काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले प्रचण्डका कारण जनयुद्ध असफल भएकाले यसलाई आफूहरुले निरन्तरता दिएको बताए । ‘हामीले जनयुद्ध सुरु गर्दा केही सपनाहरु थिए । नौलो जनवाद, जनगणतन्त्र र समाजवाद हाम्रा मुख्य एजेण्डा थिए । पछि नेतृत्वका कारण पार्टीले ठूलो हार व्यहोर्यो ।’ उनले भने, ‘यसको निरन्तरताका लागि विप्लवको नेतृत्वमा फेरि संघर्ष सुरु भएको छ । हामी हाम्रो यो सपना एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत पूरा गरेरै छोड्छौँ ।’
