महान जनयुद्ध थालनी भएको आज २७ वर्ष पूरा भएको छ । २७ बर्षपछिको यो समयविन्दुमा उभिएर इतिहासतिर फर्केर हेर्दा नेपाली समाजको आकाशमा फेरि पनि अर्को क्रान्तिको कालोनीलो बादल मडारिएको पूर्वसन्ध्यामा उभिइरहेको सर्वत्र आभाष भइरहेको छ ।
साम्राज्यवाद–विस्तारवादको आडभरोसामा टिकेको नेपालको सामन्ती राज्यव्यवस्थालाई समूल अन्त्य गरी नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने स्पष्ट राजनीतिक लक्ष्य सहित नेपाली जनयुद्ध सुरू भएको थियो । यद्यपी, जनयुद्धले दस वर्ष पार नगर्दै मुख्य नेतृत्व पङ्क्तिमा आएको भयानक राजनीतिक विचलन र गद्दारीले महान जनयुद्धका असीम सपनाहरू भताभुङ्ग पारिदियो । आज महान जनयुद्ध थालनीको २७ औं वर्षगाँठ मनाउँदै गर्दा महान जनयुद्धको वैचारिक मूलधारलाई भिन्न ढंगले निरन्तरता दिदै महासचिव विप्लवको नेतृत्वमा नेकपाले एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा अगाडी बढाइरहेको छ ।
आजभन्दा २७ बर्ष अगाडीको नेपाली समाजमा केही फेरबदल आएको छ । सामन्तवादको प्रतीक राजतन्त्रको अन्त्य भएको छ तर त्यसको ठाउँमा दलाल पुँजीवाद नेपाली क्रान्तिको दुश्मन बनेर अगाडी आएको छ । त्यतिवेलाको विद्यमान राजनीतिक तथा सामाजिक अन्तरविरोध, राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश र क्रान्तिकारीहरुको आत्मगत परिस्थिति अनुसार महान जनयुद्धको सुरुवात सही र वैज्ञानिक थियो भन्ने कुरा व्यवहारिक रूपमा प्रमाणित भइसकेको छ । यद्यपी, राज्यसत्ताका आधारभुत चरित्रमा अहिले पनि फेरबदल भएको छैन । सत्ताको उपरिसंरचनामा राजतन्त्रको अन्त्य भई गणतन्त्रको घोषणा गरिएपनि संसदीय पुँजीवादी गणतन्त्रले जनताको रगत पसिना चुसिरहेको छ ।
आज माओवादी आन्दोलनको ठूलो हिस्सा संसदीय पुँजीवादमा विसर्जन हुन पुगेको छ भने क्रान्तिकारी हिस्सा अझै पनि क्रान्तिको निरन्तर लङमार्चमा छ । विश्व साम्राज्यवादको दवदवा भइरहेको आजको दुनियाँमा सर्वहारा श्रमिक वर्गको राज्यसत्ता स्थापनाका लागि क्रान्तिको यो नयाँ लङमार्च नहिँडी सुखै छैन । महान जनयुद्व त्यही यात्रा थियो र अहिले नेकपा भिन्न ढंगले त्यही यात्रामा अगाडी बढिरहेको छ । जनयुद्धका दश वर्ष विजय र उपलब्धिका वर्ष रहेपनि कथित शान्ति प्रक्रियाका बाँकी वर्ष विघटन र पराजयका वर्ष बन्न पुग्यो । ७० को दशकमा आइपुग्दा नेकपाको पुनर्गठनले जनतामा केही आशा र विश्वास पलाएको छ । नेपाली जनता र क्रान्तिकारीहरूले रचेको बहादुरीको गौरवशाली इतिहास जनताको ढुकढुकीमा अजेय भएर बाँचिरहनेछ ।
माओवादी आन्दोलनको सिङ्गो नेतृत्वमा देखिएको क्रान्तिप्रतिको वैचारिक विचलन, गद्दारी र आत्मसमर्पणपछि संसदीय पुँजीवादमा विसर्जन हुँदा समेत सच्चा माओवादीहरूको ठूलो पङ्क्ति दृढतापूर्वक क्रान्तिपथमा अगाडि बढ्नु जनयुद्धको महत्वपूर्ण उपलब्धि हो । प्रतिक्रान्तिको भग्नावेशबाट माओवादी आन्दोलन फेरि पुनर्गठित भई क्रान्तिकारी अभियानमा दृढतापूर्वक अगाडि बढ्नु खुशीको कुरा हो । हाल छिन्न–भिन्नजस्तो देखिन पुगेको माओवादी आन्दोलन देशको विकसित घटनाक्रमसँगै मालेमावादको पथप्रदर्शनमा सच्चा क्रान्तिकारी, कम्युनिस्ट, देशभक्त र लोकतन्त्रवादीहरु वीच धु्रवीकरण अनिवार्य भएको छ । दलाल पुँजीवादी राज्यसत्ताको चरम लुट र शोषणबाट नेपाली जनतालाई मुक्ति दिन जनमत सङ्ग्रहमार्फत् जनतालाई वैज्ञानिक समाजवादको पक्षमा अभिमत दिनु आजको आवश्यकता हो ।
महान जनयुद्धको २७ औं बर्ष प्रवेशको अवसरमा सबै मालेमावादीहरू, सच्चा लोकतन्त्रवादी, देशभक्त र कम्युनिस्टहरू फेरि एकढिक्का भएर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न प्रतिबद्ध हुनु अहिलेको आवश्यकता हो । अर्थात् जनताको सुन्दर भविष्य सुनिश्चित गर्न सबैलाई सङ्घर्ष गर्ने प्रेरणा मिल्नेछ, महान जनयुद्ध दिवसको अवसरमा सवैलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं । साथै महान सहिद एवं वेपत्ता योद्वाहरूप्रति असीम सम्मान व्यक्त गर्दछौं ।
–जनबाटो परिवार
फागुन १, ०७८ (फेब्रेवरी १३, ०२२)
