२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • एमसीसी सम्झौताविरूद्व बुटवलमा ८ दलको संयुक्त...
--3581

एमसीसी सम्झौताविरूद्व बुटवलमा ८ दलको संयुक्त विरोध सभा

एमसीसी सम्झौताविरूद्व बुटवलमा ८ दलको संयुक्त विरोध सभा

'पाँचतारे होटलमा बसेर एमसीसी पास गर्ने षड्यन्त्र'

बुधवार, माघ २६ २०७८
बुधवार, माघ २६ २०७८
  • बुटवल । एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै त्यसका विरुद्ध बुटवलमा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई सम्बोधन गर्दैै नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज कृतिले एमसीसी सम्झौता नेपालको हितविपरित भएको भन्दै यसलाई सिधै खारेज गर्नुपर्ने बताउनुभएको छ । उहाँले एमसीसीमार्फत् नेपाली जनतामाथि अमेरिकी बन्दुक लादिन खोजेको भन्दै आवश्यक परे यसका विरुद्ध बलिदान दिन तयार हुनुपर्ने बताउनु भएको छ ।  

    उहाँले कांग्रेस, एमाले, माकेभित्रका दलाल र बाबुरामजस्ता दलालहरुलाई एमसीसी चाहिएको भए देश छोडी अमेरिका गएर बस्न चेतावनी दिदै पाँचतारे होटलमा बसेर एमसीसी पास गर्ने षड्यन्त्र गरिएको त्यो उनीहरुका लागी महंगो हुने बताउनुभयो । उहाँले देशको सीमा अतिक्रमण र महंगीको समस्या संसदीय पुँजीवादी राज्यसत्ताको समस्या भएको भन्दै यो व्यवस्था रहँदासम्म कहिल्यै समाधान नहुने बताउनुभयो । उहाँले वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान हुने बताउनुभयो । उहाँले विश्वमा राष्ट्रियताको समाधान श्रमिक वर्गको बल र कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्भव भएको बताउदै नेपालमा पनि यसको समाधान कम्युनिस्ट पार्टीले गर्नुपर्ने बताउनुभयो । 

    कोणसभामा नेकपा (क्रान्तिकारी माओवादी) का लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदीले एमसीसी सम्झौतालाई समर्थन गर्नेहरु देशभक्त नेपाली नभएको भन्दै यो सम्झौताका विरुद्ध सम्पूर्ण देशभक्त नेपालीहरु एक हुनुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बद्रे आलमले एमसीसी सम्झौता देशको सार्वभौमसत्ता विरुद्ध भएको भन्दै यसको खारेजीका लागी संघर्षको विकल्प नभएको बताउनुभयो । नेकपा मालेका स्थायी समिति सदस्य गोपालमणि ज्ञवालीले नेपाली जनतालाई गठबन्धनसित कुनै सरोकार नभएको भन्दै एमसीसी खारेज गरेर देश जोगाउनुपर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय उपाध्यक्ष बिनोद उपाध्यायले कांग्रेस, एमाले, माके राष्ट्रघाती पार्टी भएको भन्दै देशभक्त र राष्ट्रघातीहरुको धु्रवीकरण हुनुपर्ने बताउनुभयो । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रुपन्देहीका सचिव भगवती नेपालीले एमसीसी नेपालको संविधान र कानुनभन्दा माथि भएको भन्दै यसले नेपालको सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप गरेको बताउनुभयो ।  

    कोणसभाको सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष टानबहादुर केसीले गर्नुभएको थियो । कार्यक्रममा जनकलाकार सौगात सायरले एमसीसी खारेजी सम्बन्धी गीत गाउनुभएको थियो । एमसीसीविरुद्ध ८ दलीय मोर्चाले देशव्यापी केन्द्रीय कार्यक्रम अन्तर्गत बुटवलमा कोणसभा गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij