अनिल नेपाली, अर्घाखाँची । ‘मलाई स्वदेशमा पनि यहीँ, विदेश पनि यहीँ’ भन्दै अधिकांश मानिस सुख र सम्पन्नता प्राप्तिका लागि विभिन्न तरिकाबाट भौंतारिरहेका हुन्छन् । जसका लागि कोही विदेशिन्छन् भने कोही स्वदेशमै केही गरेर देखाउने दाउमा हुन्छन् ।
धेरैजसोको जसरी पनि कमाउने एकसुत्रीय उद्देश्य हुन्छ । केही भौतिक सुखभन्दा पनि आत्मसन्तुष्टिको खोजीमा हुन्छन् तर तालमेल नमिल्दा न भौतिक सुख प्राप्त हुन्छ, न त आत्मसन्तुष्टि नै । ऊर्जाशील जीवन त्यत्तिकै खेर जान्छ । अहिलेका अधिकांश ऊर्जाशील युवाको सपना हो, वैदेशिक रोजगारी । सक्नेहरूको गन्तव्य युरोप, अमेरिका, नसक्नेको खाडी या मलेसिया । आफ्नो देशमा कुनै अवसर नदेख्ने, विदेशमा अवसरै अवसर देख्ने नेपाली युवा जमात देशमा छ ।
त्यसो त वैदेशिक रोजगारीको सकारात्मक पाटो पनि छ, त्यो हो सीप, प्रविधि, परिश्रम, समयको महत्व । त्यही भएर विदेश जानुअघि आफ्नो देशमा कुनै अवसर नदेख्ने युवाहरू विदेशबाट फर्किएपछि अवसरै अवसर देख्छन् । हाल स्वदेशमै कृषि क्षेत्रमा समर्पित युवा कृषि उद्यमी सन्धिखर्क नगरपालिका वडा न ७ का कृषक सन्दीप भट्टराईको विगत पनि त्यस्तै रह्यो । पाँच वर्ष मलेसिया काम गरेर स्वदेश फर्किनुभएका भट्टराईले सात वर्षसम्म विभिन्न ठाउँमा होटल व्यवसाय समेत गर्नुभयो ।
दुुई वर्षअघि भीडभाड र मलेसिया ‘बाई बाई’ गर्दै सुन्दर, शान्त कर्मथलो आफ्नै गाउँ खाँचिकोट फर्किएर उहाँले ५ लाखको लगानीमा भैसी पालन सुरु गर्नुभयो । त्यसो त मलेसियामा भट्टराईको काम भैसीपालन थिएन । उहाँ होटलमा काम गर्नुहुन्थ्यो, नेपालमा होटल व्यवसाय प्रशस्त भएता पनि आफुले सिकेको सीप यता काम लागेन । तर, किसानको छोरा भएकाले उहाँलाई भैसीपालनलाई समस्या भने भएन । भैसीपालनका साथै तरकारी फुल पनि सुरु गर्नुभएका उहाँले अहिले आलुखेतीमा पनि हात हाल्नुभएको छ ।
भैसीपालन पालन गर्न कम लगानी र स्थानीय स्तरमा उत्पादित मकैको पिठो, धानको ढुटोलगायत स्थानीय दाना, घाँस र पर्याप्त क्षेत्र रहेकाले समस्या नरहेको भट्टराई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘३ वटा भैसीपालनबाट व्यवसाय सुरु गरेको हुँ, अहिले ५ वटा भैंसी छन् । भैसी २० वटासम्म पुर्याउने तयारीमा छु ।’
उत्पादित वस्तु विक्रीको बजार समस्या छैन दुध, ध्यु, दही खपत हुने गरेको बताए । आफूसँग भएको केही रकम र आफन्तबाट सरसापट लिएर व्यवसाय विस्तार गर्दै आएकाले बैंक तथा वित्तीय संस्थाबाट पनि सहुलियत दरमा ऋण लिएको उहाँ बताउनुहुन्छ । अनुदान सहयोग पनि छैन । भट्टराई भन्नुहुन्छ, ‘ऋण त लिएको छु तर व्याज कम तिनुपर्छ, अनुदान पनि छैन, अनुदान पाए हुन्थ्यो, लौ न कसलाई भनसुन गर्नुपर्ने हो, मिलाइदिनुपर्याे । भैसी बिमा गराएको छु तालिम लिएर व्यवसायमा हात हाल्नुपर्नेमा त्यत्तिकै सुरु गर्दा पनि खासै समस्या आएको छैन ।’
भट्टराई भन्नुहुन्छ, ‘तालिम लिएको छैन, काम गर्दै सिक्दै यहाँसम्म आइपुगेको छु । राम्रो हुँदै गएको छ, भैंसी पालनले आम्दानीका साथै सन्तुष्टि पनि मिलेको छ बाहिर मानिस पनि लगाएको छैन । घरका परिवार मिलेर नै हामीले व्यवसाय सुरु गरेका छौं ।’ विदेशमा श्रीमानले त्यो तड्पाई देख्दा अहिले घर परिवारका सँगै उत्पादनमा लाग्दा सन्तुष्टी मिलेको उनकी श्रीमति रिता पौडेल भट्टराईको भनाई रहेको छ । भट्टराईले अहिले ७ रोपनी जग्गामा घास खेती गरेका छन भट्टराईले मासिक ४० देखि ५० हजार कमाउनका लागि विदेश जान नपर्ने बताउदै स्वदेशकै माटोमा पसिना बगाएर विदेशमा जस्तो पैसा कमाउन सकिने भट्टराई बताउँछन् ।
तश्वीर : अनिल नेपाली

