बुटवल । नेकपाको केन्द्रीय कार्यालय कार्यरत कमरेड मञ्जु सीको गोमन सर्पले टोकेर असामयिक निधन भएको छ । कमरेड मञ्जुको स्थायी घर मुगु जिल्ला खत्याड गाउँपालिका हो ।
कपिलवस्तुको शिवराज नगरपालिकाको शिवगढीमा पार्टी केन्द्रीय कार्यालयमा बसेर पार्टी काम सँगै मञ्जु श्री सरस्वती मावि बानियाभारमा कक्षा १० मा अध्ययन गर्दै आएकी थिइन् । उनी पार्टीप्रति प्रतिबद्ध र अध्ययनमा जेहेन्दार र अनुशासित बिद्यार्थी थिइन् । कमरेड मञ्जुलाई जेठ २३ गते सर्पले तोकेपछि उनलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको थियो । कमरेड मञ्जुको बुवा नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य कमरेड सञ्जयी सी र उनकी आमा सरिता सी रहेका छन् ।
कमरेड मञ्जुको पार्थिक शरिरमा नेकपा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले झण्डा ओढाएर श्रद्धाञ्जली गरेका थिए । उनले मञ्जुको अकल्पनीय र असामयिक निधनले पार्टीलाई स्तब्ध बनाएको बताउदै पार्टीलाई गम्भीर क्षति पुगेको बताए । उनले मञ्जुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारजन र पार्टीपंक्तिमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
१५ बर्षकै कलिलो उमेरमा नै मञ्जुले जीवन गुमाएकी छन् । पार्टी, क्रान्ति र उच्च शिक्षाको सपना बोकेर केन्द्रीय कार्यालयमा कार्यरत रहेकी मञ्जुको असायमिक निधनले परिवारजन र पार्टीपंक्तिलाई असाध्यै स्तब्ध बनाएको छ । जनबाटो परिवार कमरेड मञ्जुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ र परिवारजनमा गहिरो समेवदना व्यक्त गर्दछ । उनी २०६६ मंसिर २० गते जन्मिएकी थिइन् । उनको निधन २०८२ जेठ २८ गते भएको छ ।
