आमाका नामबाट मात्र पनि नागरिकता प्रदान गर्न सकिने गरी कानुनी व्यवस्था गर्न सरकारले ल्याएको विधेयक प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको छ । नागरिकताका सम्बन्धमा अदालतबाट जारी भएका आदेशसहितका विषय सम्बोधन गर्न ल्याइएको विधेयकमा आमाका नामबाट मात्र पनि नागरिकता प्रदान गरिने व्यवस्था राखेर पारित भएको हो ।
समिति बैठकले मंगलबार नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको सभापति रामहरि खतिवडाले बताए । विधेयकमा आमा वा बाबुका नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको छ ।
‘कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रमा बाबुको नाम उल्लेख भए पनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनी निजले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानिनेछ र निजले उपदफा ५ बमोजिम वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ,’ विधेयकमा भनिएको छ ।
विधेयकको उपदफा ५ मा लेखिएको छ, ‘नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिक वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिएबमोजिम स्वघोषणा गरेमा अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।’
‘पहिलोपल्ट आमा वा बाबु जसका नामबाट भए पनि नागरिकता लिन पाउने व्यवस्थासहित विधेयक समितिबाट पारित भएको छ,’ खतिवडा भन्छन्, ‘बाबु विदेशी र आमा नेपाली छ भने अंगीकृत नागरिकता पाउने व्यवस्था गरिएको छ ।’
आमाका नामबाट नागरिकता लिँदा बाबुको नाम नलेखेमा ‘स्वघोषणा’ गर्नुपर्ने व्यवस्था राखिएको छ । नागरिकतामा बाबुको महल खाली राख्ने र नागरिकता प्रदान गर्ने जिल्ला प्रशासन वा मातहतको इलाका प्रशासन कार्यालयले आमाको ‘स्वघोषणा पत्र’ लिने व्यवस्था पारित विधेयकमा राखिएको छ ।
