बुटवल, “शान्ति, समृद्धि, स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता” भन्ने मूल नारासहित बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सुरु भएको छ। प्रेस सेन्टर नेपाल, रुपन्देहीको आयोजनामा र बुटवल उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन भएको तालिमको उद्घाटन आइतबार नगरप्रमुख खेलराज पाण्डेले गरे।
कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले उपमहानगरपालिकाले मिडिया प्रवर्द्धनमा निरन्तर काम गरिरहेको जानकारी दिए। सञ्चार क्षेत्रले नगरको सकारात्मक कामको प्रचारसँगै कमजोरीप्रति खबरदारी गर्नुपर्नेमा उनले जोड दिए। “हामी निर्वाचित भएयता सञ्चार क्षेत्रसँग सहकार्य गर्दै आएका छौं,” उनले भने।
सामाजिक सञ्जालतर्फ पत्रकारको बढ्दो आकर्षणप्रति संकेत गर्दै प्रमुख पाण्डेले समाचारको गाम्भीर्य र विश्वसनीयता कायम राख्न आग्रह गरे। उनले नगरपालिकाले सबै जात, भाषा, धर्म र समुदायको हितमा काम गरिरहेको पनि उल्लेख गरे।
उपप्रमुख सावित्रा देवी अर्यालले नगरको विकासमा पत्रकारहरूको योगदान उल्लेखनीय रहेको बताइन्। समावेशीताको सवालमा नगरपालिकाले विभिन्न पहल गर्दै आएको भन्दै उनले कतै कमजोरी भए त्यसलाई सच्याउँदै अघि बढ्ने प्रतिबद्धता जनाइन्।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारले राज्य संयन्त्रमाथि निगरानी राख्नु र खबरदारी गर्नु आफ्नो पेशागत जिम्मेवारी भएको उल्लेख गरे। महासंघ र अन्य पत्रकार संगठनले सञ्चालन गर्ने यस्ता तालिमहरूले व्यावसायिक पत्रकारिता सुदृढ हुने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सरु राना, महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, वरिष्ठ पत्रकार मदनलाल पौडेल तथा सञ्चारिका समूह रुपन्देही अध्यक्ष मिना ढकालले पत्रकारलाई समयसँगै अपडेट हुन यस्ता तालिम अपरिहार्य भएको बताए।
प्रेस सेन्टर नेपाल, रुपन्देहीका अध्यक्ष विष्णु पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख माया केसीले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव सनु थापाले गरेका थिए।
तीन दिने तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध ३५ जना पत्रकारहरूको सहभागिता रहेको प्रेस सेन्टरले जनाएको छ।
