बुटवल । बुटवलमा पुष्पलालका योगदानहरुबारे अन्तरक्रिया सम्पन्न भएको छ । पुष्पलाल जन्मशताब्दीको सन्दर्भमा माक्र्सवादी विचार मञ्च, नेपाल ०५९ ले उक्त कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रियामा मञ्चका अध्यक्ष युवराज पन्थीले आधारपत्र प्रस्तुत गर्दै पुष्पलालले नेपालका शोषित–पीडित जनसमुदायबीच सर्वप्रथम माक्र्सवादी सिद्धान्त प्रस्तुत गरेको बताउदै पार्टीभित्र बाहिर असहमतिका बावजुद पनि उहाँ आफ्नो नीतिमा टसमस नभएको बताए । उनले नेपालको ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै माक्र्सवादी संगठनको आधार निर्माण गरेको र माक्र्सवाद–लेनिनवादलाई नेपाली समाजमा लागु गरेको बताए ।
अन्तरक्रियामा वरिष्ठ लेखक दिल साहनीले कार्यकर्तालाई संघर्ष गर्न, संगठित हुन र सैद्धान्तिकरण हुन सिकाएको बताउदै उहाँले आफ्नो जीवनमा असाध्यै कष्टकर जीवन बिताएको बताए । वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेलले व्यवहारिक र व्यवहारवादी एउटै नभएको बताउदै पुष्पलाल व्यवहारवादी नभएर व्यवहारिक भएको बताए । वरिष्ठ पत्रकार एवं लेखक मदनलाल पौडेल, नेकपा मालेका गोपालमणि गौतम, रामचन्द्र श्रेष्ठ, चतुर्भुज आत्रेय, लिलाबहादुर केसीले पुष्पलालको जीवनी र विचारमाथि चर्चा गर्दै नेपालले पुष्पलालले माक्र्सवादको प्रचार गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।
विचार मञ्चका अध्यक्ष युवराज पन्थीले आधारपत्र पेश गरेका थिए भने उपाध्यक्ष बिनबहादुर कुँवरको अध्यक्षता, उपाध्यक्ष गोमादेवी आचार्यको धन्यवाद ज्ञापन, कोषाध्यक्ष ज्ञानु केसीको स्वागत र सचिव खोमा तरामु मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।
