बुटवल, रुपन्देही नागरिक समाजको आयोजनामा बुटवलस्थित नेपाल परिवार नियोजन संघको प्रांगणमा निशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।
शिविरमा महिलाहरूको पाठेघरसम्बन्धी परीक्षणमा विशेष ध्यान दिइएको थियो, जसअन्तर्गत झन्डै ८० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएका छन् ।
शिविरको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले गरे। उनले महिलाहरूलाई स्वास्थ्यसम्बन्धी समस्या नलुकाई खुलस्त रूपमा अभिव्यक्त गर्न र समयमै परीक्षण गराउन आग्रह गरे। साथै, यस्ता कार्यक्रमका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
विशेषज्ञ डाक्टरहरू डा. ज्योति राना, डा. नवीन तिरुवा, डा. नारायण जिसी लगायतको सहभागिता स्वास्थ्य परिक्षण गरिएको थियोे । परीक्षणपछि आवश्यक औषधिहरू समेत निशुल्क वितरण गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पाण्डेसँगै रुपन्देही नागरिक समाजका अध्यक्ष अमित गुप्ता, समाजसेवी निर्मल लाकौल, वडा नं. ४ का अध्यक्ष नरिश्वर पौडेल लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता नागरिक समाज बुटवलका नगर अध्यक्ष अरुण कुमार श्रेष्ठले गरे भने सञ्चालन सचिव खगेन्द्र पौडेलले गरेका थिए।
नागरिक समाज रुपन्देहीले यसअघि पनि आँखा शिविर, डस्टबिन वितरण, तिनाउ नदी सरसफाइ, सडकमा आश्रित बालबालिकाको उद्धार, सीमाना अतिक्रमणविरुद्ध खबरदारीजस्ता सामाजिक अभियानहरू सञ्चालन गर्दै आएको छ।
