गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली एक महिनाका लागि स्थगन गरेसँगै देशभरको सार्वजनिक यातायात सुचारु भएको छ। यससँगै लामो समयदेखि जारी यातायात व्यवसायीहरूको आन्दोलन पनि फिर्ता गरिएको छ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार आन्दोलन एक महिनाका लागि स्थगन गरिएको हो। उनले भने, “गण्डकी प्रदेश सरकारको पत्र प्राप्त भएपछि आन्दोलन स्थगित गरिएको हो, अहिले सार्वजनिक यातायात सञ्चालनमा आइसकेको छ।”
राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए। उनीहरूको विरोधका कारण देशैभर सार्वजनिक यातायात प्रणाली प्रभावित बनेको थियो।
यसअघि मंगलबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै नियमावलीका सबै प्रावधानहरू एक महिनाका लागि स्थगन गरिएको जानकारी गराएका थिए।
यस निर्णयपछि यातायात व्यवसायीहरूले आन्दोलन फिर्ता लिँदै सार्वजनिक सेवा पुनः सुचारु गरेका हुन् ।
