बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा अत्याधुनिक रक्त सञ्चार केन्द्रको औपचारिक उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शनिबार केन्द्रको उद्घाटन गर्दै ३०७ जनाको सामूहिक रक्तदानमार्फत सेवाको सुरुआत गरेका हुन्।
रुपन्देही व्यापार संघको १ करोड ५८ लाख २० हजार रुपैयाँ बराबरको उपकरण सहयोगमा स्थापना गरिएको सो केन्द्र अबदेखि अस्पतालको व्यवस्थापनमा सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रममा २९७ जनाले रक्तदान गरेको प्रारम्भिक विवरण भए पनि अन्तिम तथ्यांकअनुसार ३०७ जनाले रक्तदान गरेका रुपन्देही व्यापार संघले जनाएको छ।
मुख्यमन्त्री आचार्यले कार्यक्रममा रक्तदानलाई "महादान" भनी सम्बोधन गर्दै बिरामीको जीवन रक्षामा सबैलाई सक्रिय हुन आग्रह गरे। उनले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने योजना अघि बढाएको जानकारी दिँदै यसमा निजी तथा सामुदायिक अस्पतालमा देखा पर्ने कानुनी जटिलता समाधान गर्न सरकार गम्भीर रहेको बताए।
"रगतमा लाग्ने शुल्कलाई निःशुल्क बनाउने गरी कानुनी अवरोध हटाउने दिशामा सरकारले काम गरिरहेको छ,"
– मुख्यमन्त्री आचार्य
उनले लुम्बिनी प्रादेशिक अस्पताललाई "गौरवको आयोजना" का रूपमा अघि बढाइएको उल्लेख गर्दै अस्पतालमा शल्यक्रिया सेवा, प्रयोगशाला तथा आकस्मिक कक्षको विस्तार, एमआरआई जडानलगायत सेवा सुधार तीव्र रुपमा अघि बढेको बताए।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुले अस्पताललाई लुम्बिनी प्रदेशको स्वास्थ्य र आर्थिक केन्द्रका रूपमा विकास गर्न तीन अर्बभन्दा बढी लगानी भइसकेको र आगामी वर्षसम्ममा गौरव योजना सम्पन्न गर्न ६ अर्बभन्दा बढी आवश्यक पर्ने जानकारी दिए। उनले एमआरआई मेसिन एक महिनाभित्र अस्पतालमा पुग्ने बताए।
पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई आर्थिक केन्द्र बनाउने अभियानको आधार भएको उल्लेख गर्दै संघीय सरकारले समेत यसको विकासमा प्राथमिकता दिनुपर्ने सुझाब दिए।
अन्य वक्ताहरुको भनाइ:
उपप्रमुख सावित्रा अर्यालले रक्त सञ्चार केन्द्रको सुरुआतले जनस्वास्थ्य सेवामा ऐतिहासिक योगदान पुर्याउने बताइन्।
रुपन्देही उद्योग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले यो अभियानले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए।
अस्पतालका सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालले वार्षिक साढे ३ देखि ४ लाख जनताले अस्पतालबाट सेवा लिने तथ्याङ्क प्रस्तुत गर्दै गुणस्तरीय सेवामा अस्पताल प्रतिबद्ध रहेको बताए।
रक्त सञ्चार केन्द्रको क्षमता
रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीका अनुसार अस्पतालमा एकसाथ १,००० युनिटसम्मको रगत सङ्ग्रह गर्न सक्ने क्षमता भएको उपकरण हस्तान्तरण गरिएको छ। उनले यसको दीर्घकालीन सञ्चालनमा अस्पतालका साथै सामाजिक संघसंस्थाहरूको समेत भूमिका महत्वपूर्ण हुने बताए।
