२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • अर्थ/ उत्पादन
  • सत्यवतीमा कृषि एम्बुलेन्सले किसानको तरकारी विक्री...
अर्थ-उत्पादन

सत्यवतीमा कृषि एम्बुलेन्सले किसानको तरकारी विक्री वितरण गर्ने

सत्यवतीमा कृषि एम्बुलेन्सले किसानको तरकारी विक्री वितरण गर्ने

गाउँपालिकाले उत्पादनमा सहयोग मात्रै नभएर कृषि एम्बुलेन्स सञ्चालन गरेर बजारीकरणमा पनि सहजीकरण गरिरहेको छ । जसले उत्पादक तथा उपभोक्ता खुसी भएका छन् । गाउँपालिकाको १५ लाख ३१ हजार र संघीय सरकारको १९ लाख ३९ हजार गरेर ३४ लाख ७० हजार रुपियाँको लागतमा १५ क्विन्टल क्षमता कृषि एम्बुलेन्स खरिद गरेर संचालन गरिएको छ ।

बुधवार, जेठ १ २०८२
बुधवार, जेठ १ २०८२
  •  गुल्मीको सत्यवती गाउँपालिका आर्थिक वर्ष २०७९/०८० मा दुध र मासुमा आत्मनिर्भर पालिका घोषणा गरिएको थियो । सत्यवतिमा कृषि र पशुपालन गर्ने सानाठूला गरेर करिव एक हजार किसान छन् । 

    अहिले कृषि बजारीकरण वर्ष घोषणा गरिएको छ । पहाडी जिल्लाको समृद्धिको प्रमुख आधार कृषि र पर्यटन हो । सत्यवति गाउँपालिकाले पर्यटनको क्षेत्रमा पुर्वाधार निर्माण गर्दै कृषि तथा पशुपालनको क्षेत्रमा उत्पादन र बजारीकरणमा उदाहरणीय काम गरिरहेको छ । 

    गाउँपालिकाले उत्पादनमा सहयोग मात्रै नभएर कृषि एम्बुलेन्स सञ्चालन गरेर बजारीकरणमा पनि सहजीकरण गरिरहेको छ । जसले उत्पादक तथा उपभोक्ता खुसी भएका छन् । गाउँपालिकाको १५ लाख ३१ हजार र संघीय सरकारको १९ लाख ३९ हजार गरेर ३४ लाख ७० हजार रुपियाँको लागतमा १५ क्विन्टल क्षमता कृषि एम्बुलेन्स खरिद गरेर संचालन गरिएको छ ।

    यो एम्बुलेन्समा माइनस २५ डिग्री र प्लस २५ डिग्री सेल्सियससम्म तापक्रम कायम हुने भएकाले किसानको उत्पादन सुरक्षित रुपमा बजारसम्म पुग्ने भएको छ । किसान आफैले सञ्चालन र व्यवस्थापन गरेकाले बिचौलियाको समय अन्त्य भएको सत्यवति गाउँपालिका–१ अस्लेवाको किसान ओम कुवंरले बताउनुभयो । 

    उहाँले गाउँपालिकाले बीउ, उपकरण, अनुदान, संकलन र कृषि एम्बुलेन्ससहित बजारीकरणमा गरेको सहयोगले सवै किसान उत्साहित भएको बताउनुभयो । 

    किसानले दुःख गरेर उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनले मुल्य र बजार नपाउने अवस्थाको अन्त्य गर्न आफुहरुले सवै किसिमको सहयोग गरिरहेको सत्यवति गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेयले बताउनुभयो । 

    उहाँले पालिका भित्र उत्पादन भएका कृषि तथा पशुजन्य उत्पादन स्थानीय बजार र पाल्पा वुटवल सहज ढङ्गले निर्यात गर्ने उदेश्यले कृषि एम्बुलेन्स सञ्चालन गरिएको पाण्डेले जानकारी दिनुभयो । 

    एम्बुलेन्स संचालनको लागि पालिका स्तरीय थाप्ले सत्यवती कृषि बजार समिति र सबै वडामा उपसमिति गठन गरिएको छ । त्यस्तै वडाको टोल टोलमा संकलन केन्द्र राखिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख प्राविधिक उपकार भण्डारीले जानकारी दिनुभयो । 

    कृषि एम्बुलेन्समा तरकारीसंगै मासु र दूध पनि ढुवानी गर्न सक्ने भण्डारीले बताउनुभयो । थाप्ले सत्यवती कृषि बजार समितिमा गाउँपालिका भित्रका सवै कृषि सहकारी तथा समुह आवद्ध छन् । 

    किसानले मुल्यको प्रतिफल पनि आफै पाउने र उत्पादनमामा आधारित अनुदान पाउँदै आएका छन् । गाउँपालिकाले तरकारी, फलफुल, माछामासु, दूध र अण्डाबाट वार्षिक करिब १० करोड रुपियाँ बराबरको कृषि तथा पशुजन्य उत्पादन गर्दै आएको गाउँपालिकाको कृषि शाखा प्रमुख भण्डारीले बताउनुभयो । 

    सत्यवती गाउँपालिकाले गत वर्ष देखिनै बुटवलको हाटबजारको २८ नम्बर सटर भाडामा लिएर पालिकामा उत्पादित कृषि तथा पशुजन्य उत्पादन बिक्रीवितरण गर्दै आएको छ । भण्डारीका अनुसार अघिल्लो बर्ष बिक्री केन्द्रबाट एक सय टन कृषि उपजहरु बिक्री भएको छ । 

    सबै वडामा संकलित कृषि उपज बुटवल लैजाने व्यवस्था गाउँपालिकाले मिलाएको छ । आफुहरुको चुनावी घोषणा पत्रमा उल्लेख भएको कृषि उत्पादनको बजार ग्यारेण्टी गर्ने काम पुरा गर्दे आएको सत्यवति गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले बताउनुभयो । 

    सत्यवतिको उत्पादनको पहिलो उपभोक्ता स्थानीयनै भएकाले धेरै उत्पादन भए थोक तथा वुटवल रहेको गाउँपालिकाको बिक्रीकेन्द्रमा पठाइने तरामुले बताउनुभयो ।

    -टोपलाल अर्याल, गोरखापत्र

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij