२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
प्रदीप नेपाल स्मृति

बुटवलमा प्रदीप नेपालको जीवनी चर्चा

बुटवलमा प्रदीप नेपालको जीवनी चर्चा

नेपाली वामपन्थी आन्दोलनका नेता एवं वरिष्ठ साहित्यकार प्रदीप नेपालको सम्मान र स्मृतिमा बुटवलमा उहाँको जीवनीमाथि चर्चा गरिएको छ ।

शनिवार, बैशाख २७ २०८२
शनिवार, बैशाख २७ २०८२
  • बैशाख २७, बुटवल । नेपाली वामपन्थी आन्दोलनका नेता एवं वरिष्ठ साहित्यकार प्रदीप नेपालको सम्मान र स्मृतिमा बुटवलमा उहाँको जीवनीमाथि चर्चा गरिएको छ ।

    माक्र्सवादी विचार मञ्च, नेपाल–०५९ ले बुटवलमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले दिवंगत प्रदीप नेपालले कम्युनिस्ट आन्दोलन र लेखनमा गरेको योगदानको चर्चा गर्दै उहाँ निर्भीक र इमानदार नेता भएको बताउनुभएको छ ।

    पूर्व मुख्यमन्त्री तथा लुम्बिनी प्रदेश सांसद लिला गिरीले उहाँ सरल, इमानदार, सही र गलत छुट्याउन सक्ने असल कम्युनिस्ट नेता भएको बताउनुभएको छ । उहाँले पत्रकारिता र साहित्यिक लेखनको माध्यमबाट समेत महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

    माक्र्सवादी चिन्तक एवं वरिष्ठ साहित्यकार दिल साहनीले पञ्चायतकालमा पार्टी भूमिगत रहेको बेला प्रदीप नेपालसितको सहकार्य र भेटघाटको स्मरण गर्दै उहाँ स्पष्ट र निर्भीक व्यक्तित्व भएको बताउनुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पिबिएम प्रेम सुवेदीले उहाँ राजनीतिक, साहित्यिक, सांस्कृतिक र पत्रकारिता क्षेत्रमा योगदान गरेका बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो ।

    संस्कृतिकर्मी झपेन्द्र जीसीले कम्युनिस्ट आन्दोलनको विस्तारको क्रममा उहाँले लुम्बिनी क्षेत्रको समेत नेता भएको बताउदै उहाँले लेखेका बालसाहित्यलाई स्थानीय सरकारले पाठ्यपुस्तक राख्नुपर्ने बताउनुभयो । लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले उहाँले मृत्युको नयाँ संस्कार छोडेर जानुभएकोले यसलाई सबैले आत्मसात गर्नुपर्ने बताउनुभयो । प्रदेश पूर्वसांसद थानकुमारी थापाले कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण नेता भएको बताउनुभयो ।

    वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईले दिवंगत प्रदीप नेपालको संक्षिप्त चिनारी प्रस्तुत गर्दै उहाँ वि.सं. २०२६ सालमा विद्यार्थी संगठनमा जोडिएर राजनीति सुरु गरेको चर्चा गर्दै २०७५ सालमा सक्रिय राजनीतिबाट अलग भएको बताउनुभयो । उहाँले साहित्य क्षेत्रमा पार्टीकी आमा, पूर्वतिर, मुक्ति, स्वप्नील सहर, देउमाइको किनारामा, मुक्त आकासको खोजीलगायत दर्जनौ साहित्यिक कृतिहरु लेखेको बताउनुभयो ।

    माक्र्सवादी विचार मञ्चका उपाध्यक्ष बिनबहादुर कुँवरको अध्यक्षता, उपाध्यक्ष गोमादेवी आचार्यको स्वागत र महासचिव पदम कार्कीको सञ्चालनमा कार्यक्रममा भएको थियो । कार्यक्रममा विभिन्न वामपन्थी नेता, बुद्धिजीवी, लेखक तथा साहित्यकारहरु उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij