रोल्पा, २०८२ वैशाख २० — ३२औँ प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ रोल्पा शाखाको आयोजनामा लिबाङमा प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम नेपाल पत्रकार महासङ्घ रोल्पा शाखाकी अध्यक्ष खुबीना सुनारी मगरको अध्यक्षतामा आयोजित गरिएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष काशीराम डाँगी प्रमुख अतिथि रहनु भएको थियो।
दिवसको अवसरमा लिबाङ स्थित पिपल चौतारादेखि भट्ट होटेलसम्म प्रभातफेरी गरिएको थियो। त्यसपछि भट्ट होटेल अगाडि औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो। उक्त कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासङ्घ रोल्पाका सचिव तिलक घर्ती मगरले गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूले प्रेस स्वतन्त्रताको महत्वबारे धारणा राख्दै शुभकामना व्यक्त गरेका थिए। अधिकांश वक्ताहरूले प्रेस स्वतन्त्रता भनिए पनि अझै पूर्णरूपमा कायम हुन नसकेको उल्लेख गर्दै, पत्रकारहरूलाई विभिन्न माध्यमबाट कुण्ठित पार्ने प्रयास भइरहेकाले प्रेस स्वतन्त्रताको सुनिश्चितता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रोल्पाका पूर्व अध्यक्ष मानसिंह विश्वकर्मा, खेम बुढामगर, महेश न्यौपानेलगायत १५ भन्दा बढी पत्रकारहरूको उपस्थिति रहेको थियो।
